१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका कारण पछिल्लो पटक १५ बर्षीय किशोरसहित दुई जनाको मृत्यु


0
Shares

काठमाडौं । बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको हो ।

यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ ।

श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो ।

अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

योसहित बाँकेमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ पुगेको छ ।