१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभर आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय


0
Shares

काठमाडौं, असोज २४ । नेपाल चिकित्सक संघले आइतबार (भोलि)देखि देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ ।

अनशनरत् डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा कोभिड-१९ र आकस्मिक सेवाबाहेकका सबै सेवा बहिस्कार गर्ने संघले जनाएको हो ।

संघको शनिबार ‘भर्चुअल’ माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताउनुभयो ।

आमरण अनशनमा रहनुभएका डा. केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएकाले आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बन्द गर्न आफूहरु बाध्य भएको पनि उहाँले बताउनुभयो ।

सरकार गम्भीर पनि नहुने र वार्ता एवं संवादलाई औपचारिकतामा मात्रै सीमित गरिएको भन्दै संघले गम्भीर आपत्तिसमेत प्रकट गरेको छ ।

आइतबारसम्म पनि सत्याग्रहको अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने महासचिव रिजालले बताउनुभयो ।

संघले आइतबारका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपालभरिका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यान्वयन गर्ने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्नेसमेत डा. रिजालले बताउनुभयो ।