१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जिवित रहने


0
Shares

एजेन्सी, असोज २६ । अनुसन्धानकर्ताहरुले बैंक नोट, फोन स्क्रीन र स्टील जस्ता वस्तुको सतहमा कोरोना भाइरस (कोभिड–१९) २८ दिनसम्म संक्रमित (जिवित) रहने जनाएका छन् ।

आष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले सार्स कोभ–२ सोचेभन्दा लामो समयसम्म जिवित रहने जनाएको हो । यद्यपि, यो प्रयोग अँधेरोमा गरिएको थियो । यूभी लाइटले भाइरस मार्ने विषय पहिले नै देखाइसकेको छ ।

जबकी यसअघि गरिएका प्रयोगशाला परीक्षणमा बैंक नोट र ग्लासमा दुईदेखि तीन दिन, प्लास्टिक र स्टेनलेस स्टीलमा छ दिनसम्म जिवित रहने देखाइएको थियो ।

तर अष्ट्रेलियामा गरिएको पछिल्लो अनुसन्धानमा भने भाइरस निकै बलियो पाइएको हो । मोबाइल फोनको स्क्रीनमा हुने शिशा तथा प्लास्टिक र कागजी बैंकनोट जस्ता मुलाउम सतहमा २८ दिनसम्म जिवित रहेको हो ।

अनुसन्धान भने २० डिग्री सेल्सियसको कोठाको तापक्रमसरहको अँधेरो स्थानमा राखेर गरिएको थियो । यसको तुलनामा, एकै अवस्थामा फ्लू भाइरस भने १७ दिनसम्म जिवित रहने जनाइएको छ ।

केही विशेषज्ञले वास्तविक जीवनमा भाइरसले यस्ता सतहमा रहेर खतरा उत्पन्न गर्नेबारेमा शंका पनि व्यक्त गरेका छन् ।

कोरोनो भाइरस खासगरी जब व्यक्तिले खोक्ने, हाछ्यू गर्ने समयमा बढी फैलने गर्दछ । उसो त हावामै रहिरहेर अरुमा सर्ने पनि पुष्टि भैसकेको छ ।

हुनत यूएस सेन्टर्स फर डिजिज कन्ट्रोलका अनुसार संक्रमित धातु या प्लास्टिकलाई छुँदा पनि कोभिड–१९ सर्दछ । तर यसलाई आम समस्या मानिएको छैन ।

भाइरोलोजी जर्नलमा प्रकाशित अध्ययनले पनि गर्मीमा भन्दा जाडोमा भाइरस बढी समय बाँच्ने जनाएको थियो । जसमा ४० डिग्री सेल्सियस तापक्रम भएको केही सतहमा २४ घण्टापछि संक्रमण हुन रोकिएको थियो ।

यो कपडा जस्ता झारझूर हुने पदार्थमा (१४ दिन) भन्दा मुलायम सतह भएको वस्तुमा बढी समय रहने पाइएको हो ।

विमतीका श्वर

उता कार्डिफ विश्वविद्यालयका पूर्व निर्देशक कमन कोल्ड सेन्टरका प्राध्यापक रोन एक्सेलले भने यस अध्ययनको आलोचना गर्दै २८ दिनसम्म भाइरस जिवित रहने विषयले जनतामा अनावश्यक डर पैदा हुने बताउनुभएको छ ।

भाइरस फैलनका लागि खोकी, हाछ्यू या फोहोर औंलाका माध्यमबाट खकार वा सिंगानको प्रयोग हुनपर्नेमा यस शोधमा मानिसको ताजा खकार प्रयोग नगरिएको उहाँको भनाइ छ । संक्रामक भाइरस दिनौंसम्मको सट्टा घण्टौंसम्म मात्र जिवित रहन्छ, उहाँले थप्नुभयो ।

गत हप्ता क्यालिफोर्निया विश्वविद्यालयमा औषधिकी प्राध्यापक मोनिका गान्धीले त कोरोना भाइरस सतहमा नफैलने जिकिर गर्नुभएको बीबीसीले जनाएको छ ।