
काभ्रे । चाडपर्व नजिकिएसँगै काभ्रेको व्यापारिक नगरी बनेपामा सर्वसाधारणको भीडभाड बढेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगरी भएको अत्यधिक चहलपहलले कोरोना संक्रमणको जोखिम थप बढाउने हो कि भन्ने चिन्ता बढेको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दसैं, तिहारमा लकडाउन हुनसक्ने चर्चा सुरु भएसँगै काभ्रेको बनेपामा खाद्यान्न, कपडालगायतका सामान किनमेल गर्नेको घुँइचो लागेको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेका बेला जनस्वास्थ्यका मापदण्ड पालना नगरी भएको चहलपहलले जोखिम बढेको हो ।
सर्वसाधारणको चहलपहल बढ्दै गएपछि बनेपा नगरपालिकाले भीड नियन्त्रण गर्ने उपायसहितको प्रतिवेदन पेश गर्न समिति पनि गठन गरेको छ भने नगरपालिकाले दशैंसम्ममा फुटपाथ व्यवस्थित गर्ने गरी काम गरिरहेको जनाएको छ ।
करिब ६ महिना व्यवसाय बन्द गरेका केही व्यवसायीलाई मानिसको चहलपहलले राहत पुर्याएको छ । तर यही समयमा बनेपा नगरपालिकाले फुटपाथ व्यवस्थापन कार्यलाई तिव्रता दिएपछि साना व्यापारी भने मारमा परेका छन् ।
यता नगरपालिकाले भने फुटपाथ व्यवस्थित गराउने कुराबाट पछि नहट्ने बताएको छ । फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई विकल्प दिन नसक्नेसमेत नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले पटक–पटक फुटपाथ व्यवस्थित गर्ने बताएपनि अहिलेसम्म काम हुन सकेको छैन ।
फुटपाथ व्यवस्थित गर्ने नाममा साना व्यवसायीलाई लखेट्ने र ठूला व्यवसायी सामु नगरपालिका निरिह बनेको व्यवसायीको गुनासो छ ।
फुटपाथ व्यवस्थित गर्नु आवश्यक भएपनि चाडपर्वको मुखमा उचित विकल्प नदिइ काम सुरु गर्दा बजार अझै अव्यवस्थित देखिएको छ ।
नगरपालिकाले तत्काल उचित विकल्पसहितको भीड कम गर्ने योजना बनाउनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्