
धनुषा । प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ ।
छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो ।
गत माघ २ गतेखि प्रदेश नं २ का १३६ वटै पालिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चालन गरिएको थियो ।
संयोजक यादवले अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो ।
उहाँले महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको बताउनुभयो ।
प्रदेशका सबै १३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ ।
सुविसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
महिला हिंसा न्यूनीकरण तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश नं २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम सञ्चालनमा छ ।
जसमा छोरी जन्मिने बित्तिकै प्रदेश सरकारले ३७ हजार तिरेर तीन लाखको बीमा गरिदिने व्यवस्था गरिएको छ ।
उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् । शुरुमा २०७५ मा योजना एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर एक लाखको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो ।
मुख्यमन्त्री कार्यालयसँग माघयता २६ हजार ९५६ छोरीको बीमा गरिएको तथ्याङ्क छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बीमाको तथ्याङ्क रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो ।
जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्