
काठमाडौं, असोज २६ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले गुलाबजंग शाहलाई पार्टीको प्रमुख सचेतकको जिम्मेवारीबाट हटाउनुभएको छ ।
शाहको काम-कारबाही सन्तोषजनक नभएको भन्दै उहाँलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । नेपाली यसअघि सचेतक हुनुहुन्थ्यो ।
शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेशसभा सचिवालयलाईसमेत गराइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबारमात्र मुख्यमन्त्री शाहीविरुद्ध सत्तापक्षकै १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि सोमबार शाहले मंगलबार (भोलि)का लागि संसदीय दलको बैठक बोलाउनुभएको थियो ।
शाही निर्वाचित भएपछि दल र सरकारको काम-कारबाही प्रभावकारी नहुँदा जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको आरोप लगाउँदै नेकपाका कर्णाली प्रदेश सहइन्चार्जसमेत रहनुभएका र मुख्यमन्त्रीको दाबेदार यमलाल कँडेलको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका तीनजना सांसद छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् ।
प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आएका सत्तापक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउँदै आएका थिए । मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपाभित्र पटक पटक विवाद हुँदै आएको थियो ।
तत्कालीन नेकपा एमालेको बहुमत रहेको कर्णाली प्रदेशमा पार्टी एकीकरणले मुख्यमन्त्री तत्कालीन माओवादीको भागमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस्