
काठमाडौं, असोज २६ । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ ।
पछिल्लो केही दिनयता संक्रमणको दर पनि उच्च रहेको र पूर्णरुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
भाइरोलोजिष्ट डा. मरासिनीले समग्र देशको संक्रमणको स्थितिभन्दा पनि काठमाडौं उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको बताउनुभयो ।
काठमाडौं उपत्यकाभित्रका सबै समुदाय, घर, कार्यालयलगायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकोले स्थिति नियन्त्रणबाहिर गइसकेको उहाँले बताउनुभयो ।
भाइरोलोजिष्ट डा. मरासिनीले सरकारले सही नीति लिन नसक्दा संक्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि स्पस्ट पार्नुभयो ।
नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवत-जावतलाई व्यवस्थापन नगर्दा संक्रमण फैलिएको उहाँको भनाइ छ ।
सरकारले सीमानाकामा आउने मानिसहरुलाई अव्यावहारिक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको टिप्पणी गर्नुभयो ।
त्यस्तै, ‘कन्ट्याक्ट ट्रेसिङ’ राम्रोसँग नगर्ने र स्वाब संकलन गरेपछि ९/१० दिनसम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा संक्रमण फैलिन सहयोग पुर्याएको डा. मरासिनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्