१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाबुराम, उपेन्द्र र मुख्यमन्त्रीले कोरोनाको खिल्ली उडाए ! (भिडियोसहित)


0
Shares

काठमाडौं, असोज २७ । कोरोनाभाइरसको संक्रमण दिनहुँ बढ्दो छ । कोरोना रोकथामका लागि सरकारले जनस्वास्थ्य सुरक्षाको मापदन्ड अपनाउन आग्रह गर्दै आएको छ ।

सरकारले कोरोना नियन्त्रणकै लागि एक ठाउँमा एकपटकमा २५ जनाभन्दा बढी भेला हुन, सभा-समारोह, पार्टी गर्न रोक लगाएको छ । अनावश्यक हिँड्डुल नगर्न सरकारको सुझाव छ । सरकारले बडादसैंसमेत आफ्नै घरमा बसेर परिवारभित्रमात्र मनाउन आग्रह गरेको छ ।

तर, सरकारी पक्ष र विभिन्न राजनीतिक दलहरुबाटै यसको उल्लंघन भएको देखिन्छ । सोमबार पर्सामा यस्तै भयो ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले सोमबार पर्सामा ‘बृहत् पार्टी प्रवेश तथा तथा शुभकामना आदान-प्रदान’ कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतलगायतको उपस्थिति थियो ।

उहाँहरुले विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउनुभयो । चाडपर्वको शुभकामना दिनुभयो । चर्को भाषण गर्नुभयो । तर, कोरोनाभाइरसको जोखिमबारे मतलब गर्नुभएन । कोरोना जोखिमको सार्वजनिकरुपमै खिल्ली उडाउनुभयो ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको महुवनमा आयोजित कार्यक्रममा मञ्चमा लहरै अतिथि देखिन्थे । सहभागीहरु थुप्रै थिए । २५ जनाको सीमा त्यहाँ पालना भएको थिएन ।

कोरोनाभाइरसबाट जोगिन अपनाउनुपर्ने सावधानीमध्ये धेरैले मास्क लगाएकोचाहिँ देखियो । तर, कतिपयले मास्क नै लगाएका थिएनन् । मास्क लगाएका केही व्यक्तिले पनि ठिकसित लगाएको देखिएन ।

व्यक्ति-व्यक्तिबीच कायम गर्नुपर्ने दुई मिटरको भौतिक दूरी त्यहाँ कायम गरेको देखिएन । मानिस नजिक-नजिकै कुर्सीमा बसेका थिए । कुर्सी नपाउनेहरु दूरीको ख्यालै नगरी लहरै उभिएको प्राप्त भिडियोमा देखिएको छ । दृष्य हेर्दा कोरोनालाई जिस्काइरहेको भान हुन्छ ।

कार्यक्रममा बालबालिकालाईसमेत सहभागी गराएको देखियो । राजनीतिक दलको कार्यक्रममा बालबालिकालाई सहभागी गराउन नपाइने नियम छ ।

पर्सा कोरोना संक्रमणको दृष्टिकोणले उच्च जोखिममा रहेको जिल्ला हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पर्सामा सोमबारसम्म दुई हजार ९३३ जनामा संक्रमण पुष्टि भइसकेको छ । सोमबारमात्रै पर्सामा १७ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

तर, कोरोना रोकथामको कार्य गर्नुपर्ने मुख्यमन्त्रीबाटै सरकारी मापदन्डको उल्लंघन गरियो । समाजमा अगुवाका रुपमा रहने राजनीतिक दल र नेताले नागरिकलाई के सिकाए ? कोरोना फैलाउन यस्ता कार्यक्रम सहयोगी हुँदैनन् ? महामारीको विषम परिस्थितिमा यस्ता कार्यक्रमहरु गर्नु उपयुक्त हो ? यस्तो बेलामा यस्ता कार्यक्रम नगरे हुँदैन ?

सोमबार जसपाले पर्साका तीन ठाउँमा पार्टी प्रवेश तथा चाडपर्वको शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको थियो ।

भिडियो हेर्नोस्

बाबुराम, उपेन्द्र र मुख्यमन्त्रीले कोरोनाको खिल्ली उडाए !

बाबुराम, उपेन्द्र र मुख्यमन्त्रीले कोरोनाको खिल्ली उडाए !

Posted by ImageKhabar.com on Monday, October 12, 2020