
काठमाडौं, असोज २७ । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा ‘मुख्य योजनाकार’सहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
मंगलबार उनीहरुलाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो ।
जग्गा हेर्न भन्दै गएका उनीहरुले गत हप्ता योञ्जनलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते योञ्जनको उपचारकाक्रममा मृत्यु भएको थियो ।
अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनीहरुले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताउनुभयो ।
कुटपिटबाट योञ्जनको पेट, छाती र अनुहारमा गम्भीर चोट देखिएको उहाँले बताउनुभयो ।
कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लिएर फरार भएका प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट बा९६प ७११४ नम्बरको एउटा मोटरसाइकल, सुन बिक्रीबाट प्राप्त एक लाख ५५ हजारमध्ये ५४ हजार ६०० रुपैयाँ नगद पनि र एक तोला दुई लाल सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्