१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साझा प्रयासबाट विपद् जोखिम न्यूनीकरण गर्नुपर्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासबाट प्राकृतिक विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।

प्राकृतिक विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित ‘भर्चुअल’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यापक जागरण र साझा प्रयासबाट जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले जोखिम प्रकट हुनै नपाउने र भइहालेमा त्यसको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा सरकार तत्पर रहेको पनि बताउनुभयो ।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहित गर्ने र सबै तहमा जानकारी गराउने काम भइराखेको उहाँको भनाइ थियो ।

विपद् न्यूनीकरणका लागि मानवीय भावना, परोपकारी भावना र सहकार्यको भावनाको आवश्यकता भएको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय कोरोनाभाइरसले मानवीय र अर्थतन्त्रमाथि गम्भीर क्षति पुर्‍याएकोले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्नेसमेत उहाँले बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विश्व कोरोना महामारीको विरुद्ध जुधिरहेको अवस्थामा सम्पूर्ण व्यक्ति एक भइ विपद्को समाना गर्न दिवसले सबैलाई प्रतिबद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस वर्षको मनसुनमा ५०० भन्दा बढीको संख्यामा मानवीय क्षति भएको र एक अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको जानकारी दिनुभयो ।