
काठमाडौं, असोज २७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले ‘लकडाउन’पछि खुलेको बजारमा कुनैपनि खाद्यान्नलगायत दैनिकरुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गर्नुभयो ।
तर, विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक-दुईओटा वस्तुमा मूल्यवृद्धि हुनु स्वाभाविक भएको मन्त्री भट्टको भनाइ थियो ।
बजार आफ्नो गतिमा गएको बताउँदै उहाँले भन्नुभयो-‘कहीँपनि समस्या आएको छैन ।’
अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यानकेन्द्रित भएको पनि उहाँले बताउनुभयो ।
निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताउनुभयो ।
उद्योगमन्त्री भट्टले आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दाबीसमेत गर्नुभयो ।
उहाँले कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्