१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, ओली पक्ष अल्पमतमा


0
Shares

काठमाडौं, असोज २७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावबाट माधव नेपाल समूह पछि हटेको छ ।

मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि कर्णाली प्रदेश संसदीय दलका नेता शाहीले नेपाल पक्षलाई सचेतक र तीन मन्त्री दिन सहमत भएपछि नेता नेपाल र शाही पक्षबीच कुरा मिलेको हो ।

सहमतिपछि नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता शाहीले कालिकोटका कुर्मराज शाहीलाई सचेतक नियुक्त गर्नुभएको छ भने मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाहीलाई मन्त्री बनाउन तयार हुनुभएको बताइएको छ ।

केन्द्रमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालबीच सहमति जुटेसँग प्रदेशमा केपी शर्मा ओली पक्षका प्रदेशसभा सांसदविरुद्ध नेपाल र दाहाल समूहका सांसद एकजुट भएका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपनि नेपाल समूहका सात सांसदले आफ्नो समर्थन फिर्ता लिएपछि ओली पक्ष अल्पमतमा परेको छ ।