१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा कर्णाली कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई काठमाडौं बोलाइयो


0
Shares

काठमाडौं, असोज २७ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई काठमाडौं बोलाउनुभएको छ ।

मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाइएको हो ।

प्रदेशका अन्य नेताहरु आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद चन्द्रबहादुर शाही र गुलाबजंग शाहलाई पनि काठमाडौं बोलाइएको जनाइएको छ ।

अहिले जारी सबै गतिविधि बन्द गर्नसमेत नेकपा अध्यक्षद्वयले निर्देशन दिनुभएको बताइएको छ ।

दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गएको आइतबार १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको थियो ।

उनीहरुलाई काठमाडौं झिकाएपछि मंगलबारै अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको सहमति तत्काललाई रोकिएको छ ।

मुख्यमन्त्रीविरुद्ध शाहीले नेपाल पक्षलाई सचेतक र तीन मन्त्री दिन सहमत हुनुभएको थियो ।

काम-कारबाही प्रभावकारी नभएको भन्दै आइतबार मुख्यमन्त्री शाहीविरुद्ध पूर्वमाओवादी पृष्ठभूमिका तीनजना, पूर्वएमाले पृष्ठभूमिका ओली समूहका आठजना, नेपाल समूहका सातजना गरी १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको पत्र दर्ता गराएका थिए ।