१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको परीक्षणलाई आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै पीसीआर परीक्षणलाई निःशुल्क गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।

फैसलाको पूर्णपाठमा सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराउन समेत सरकारलाई निर्देशन दिइएको छ ।

त्यसैगरी सरकारी अस्पताल वा निकायमा पीसीआर परीक्षण गर्दा शुल्क लिन नपाइने भनी फैसला गरेको छ ।

अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीको निवेदनमाथि फैसला सुनाउँदै सर्वोच्च अदालतले कोरोनासँग सम्बन्धित सम्पूर्ण सेवा सरकारी अस्पतालमा निःशुल्क हुनुपर्ने र लक्षण नभएकाहरुले पनि परीक्षण गर्न चाहेमा दिनुपर्ने भनिएको छ ।

त्यस्तै कुनै पनि नागरिकले भिसा प्रयोजनका लागि परीक्षण गर्न चाहेमा निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने पूर्णपाठमा उल्लेख छ ।

निजी अस्पतालले सरकारले तोकेको शुल्कभन्दा बढी लिन नपाउने जनाउँदै परीक्षणका लागि सरकारी निकायमा गएका नागरिकको अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने फैसलामा भनिएको छ ।

यसअघि सरकारले कोरोना परीक्षणमा शुल्क लिँदा नागरिकलाई दिएको स्वास्थ्यसम्बन्धी हक उल्लंघन गरेको भन्दै अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो ।