
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेर आलोचना गर्नुभएको छ ।
फ्लोरिडाको पाइन्स शहरमा रहेको सिनियर सेन्टरका मतदातालाई सम्बोधन गर्दै बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको कमजोर प्रयासलाई लिएर राष्ट्रपति ट्रम्पको आलोचना गर्नु भएको हो ।
ट्रम्पले कोरोना भाइरसबाट पाको उमेरका व्यक्तिमा पर्ने गम्भीर प्रभावलाई खारेज गरी सो समूहका मानिसलाई जोखिममा पारेको आरोप बाइडेनले लगाउनु भएको छ ।
यसअघि ट्रम्पले फ्लोरिडामा चुनावी सभामा समर्थकलाई आफू शक्तिशाली भएको जानकारी दिनुभएको छ ।
राष्ट्रपति चुनाव जित्न चाहिने २७० इलेक्ट्रोल कलेज मतका लागि फ्लोरिडा र ओहायो सहितका राज्यको मत महत्वपूर्ण रहेका छन् ।
पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन राष्ट्रिय रुपमा ट्रम्प भन्दा दोहोरो अंकले अघि देखिनुभएको छ ।
तर केही महत्वपूर्ण राज्यहरुमा अग्रता साँघुरो रहेको छ । रियल क्लियर पोलिटिक्सले संकलन गरेको औषत अनुसार फ्लोरिडामा बाइडेन ३ दशमलव ७ प्रतिशतले अघि रहेका छन् ।
सन् २०१६ को चुनावमा ट्रम्पले फ्लोरिडामा साँघुरो मत अन्तरले जित हासिल गर्नुभएको थियो जुन पाको उमेरका मतदाताको मत महत्वपूर्ण सावित भएको थियो ।
तर पछिल्लो सर्वेक्षणहरुमा पाको उमेरका मतदाताहरु रिपब्लिकनबाट टाढिँदै गएका छन् । ट्रम्प र बाइडेनको चुनावी अभियानमा स्पष्ट अन्तर देखिन्छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्