१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सांसद सानु सिवा: १७ सयमा ‘स्टेज म्यारिज’ गरिन, विभेद र रोगसँग लड्दालड्दै अस्ताइन


0
Shares

काठमाडौं । नेकपाको तर्फबाट प्रतिनिधि सभा सदस्य भएकी सानु सिवा(पहाडी)को बुधबार विहान निधन भयो ।

धेरै चर्चामा नरहनुभएको तथा सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय उहाँ मृगौलाको पुरानै विरामी हुनुहुन्थ्यो ।

वि.स २०३६ सालबाट विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सक्रिय ताप्लेजुङकी उहाँले इलामका साहित्यकार डम्बर पहाडीसँग विवाह गर्नुभएको हो । डम्बर पहाडी भने साहित्यकार एवम् एकलाइने कविता आन्दोलनका प्रवर्तक हुन ।

इलाम नेकपाका नेता नवराज शंकरले सानुलाई नेपाली सामाजिक–सांस्कृतिक रुपान्तरणको आन्दोलनको अथक योद्धाका रुपमा चित्रण गरेका छन् ।

यतिमात्र होइन सानु र डम्बरको विवाहको पनि नौलो कहानी छ । दुवै जना साहित्यिक ब्यक्ति भएकाले उनीहरुले नेपालमा पहिलोपटक ‘स्टेज म्यारिज’ गरेका थिए । त्यो विवाह पनि १७ सयमा सम्पन्न भएको भनेर खुबै चर्चा पाएको थियो ।

स्टेजमा जनवादी गीत गाउँदै हिड्ने सानु २०२८ सालतिर जनवादी गीतहरुबाट प्रभावित भएर जनताको गीत गाउँदै हिंडेपनि कालान्तरमा महिला विकास शाखाको कर्मचारी रहँदा डम्बरसँग विवाह गर्नुभएको हो ।

ओछ्यान लागेर मृत्युवरण गर्नु नपरोस भनेर बताउने उहाँको २०६२/०६३ को आन्दोलन चलिरहंदा दुवै मृगौला फेल भएको थियो ।

त्यसपछि निरन्तर कमजोर रहँदै आउनुभएको उहाँ राजनीतिमा सक्रिय नै हुनुहुन्थ्यो । तमिलनाडुको एपोलो हस्पिटलमा मृगौला प्रत्यारोपण गरेर आएको एकवर्षपछि पाठेघरमा ट्युमरले थलिएकी उहाँलाई पछि मोतियाबिन्दु पनि भएको थियो ।

शल्यक्रिया गरेर ट्युमर फालेको दुई वर्षपछि फेरि हृदयघात भएर मुटुको दुईओटा भल्भ हाल्नुपर्ने परेको थियो । रोग बोकेर कमजोर भएपनि निरन्तर राजनीतिमा सक्रिय सानुलाई केही दिन अघि मुटुमा एकाएक समस्या आएपछि काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।