
डीबी विष्ट
बझाङ, साउन २ । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई घरभन्दा विद्यालय प्यारो लाग्ने गरेको छ ।
अभिभावहकहरुले बौद्धिक अपाङ्ग भएका बालबालिकाहरुलाई माया गर्नुको साटो अपहेलना र घृणा गर्ने भएका कारण घरभन्दा विद्यालय प्यारो लाग्ने गरेको विद्यालयका श्रोत शिक्षक नन्दराज जोशीले बताए ।
आफूहरुले त्यस्ता बालबालिकाहरुलाई राम्रोसँग हेराचाह र माया गर्ने भएका कारण उनीहरु आफ्नो घरभन्दा विद्यालयमा बढी बस्न रुचाउने गरेको उनको भनाइ छ ।
बझाङ जिल्लामा मष्टा गाउँपालिकाको कुलमष्टाजन माविमामात्रै बौद्धिक क्षमता भएका बालबालिका अध्ययन गर्ने सुस्त मनस्थिति कक्षा संचालनमा छ । स्मरण शक्ति, मानसिक शक्ति कमजोर भएका बालबालिकाहरु हाल यस विद्यालयमा अध्ययनरत छन् ।
विद्यालयमै छात्रबासको ब्यवस्था भएका कारण बालबालिकाहरु घर जान नमान्ने र विद्यालयको छात्रबासमै बस्ने गरेको श्रोत शिक्षक जोशीले बताए ।
विद्यालयबाट नजिकै घर भएकी मष्टा गाउँपालिका भातेखोलाकी बसन्ती जोशीले आफुलाई घरभन्दा विद्यालय रमाईलो लाग्ने गरेको बताइन् । घरमा अभिभावक, आफन्त र छिमेकीहरुले अपहेलना गर्ने, लाटी भन्दै गिज्याउने, जिस्काउने गरेका कारण विद्यालयमै राम्रो लागेको उनको भनाइ छ ।
उनी विगत २ बर्षदेखि विद्यालयमा बस्दै आएकी छन् ।
यस्तै रिलुका ७ बर्षीय विजय बोहरा समेत एक वर्षदेखि घर गएका छैनन् । आफुजस्तै साथीहरुसँग खेल्न र रमाईलो गर्न पाईने भएका कारण घर जान मन नलागेको उनले बताए ।
उनीजस्तै खप्तड छान्ना गाउँपालिकाकी सिल्पा रावल पनि विगत ६ बर्षदेखि विद्यालयमै बसोबास गर्दै आएकी छन् । घरका आफन्त लिन आए पनि उनी घर जान नमान्ने गरेको श्रोत शिक्षकले बताए ।
सिल्पाजस्तै बौद्धिक अपाङ्गता भएका सबै बालबालिका आफ्नो घर जान मान्दैनन् । अहिले खप्तड छान्ना गाउँपालिका, मष्टा गाउँपालिका लगायतका गाउँपालिका र नगरपालिकाका गरी यस विद्यालयमा ५ जना छात्रा र ७ जना छात्र अध्यनरत छन् ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सरसफाइ, सामाजिक विकास सम्बन्धको पहिचान, सिस्टाचारका कुरा, बस्तु पहिचान, सामानको जतन, सम्बन्धको पहिचान, आदी पाठ्यक्रममा समावेश भए अनुसार अध्यापन गराईदै आएको छ ।
छात्रबासमा खेलकुदका सामानहरु क्यारम बोर्ड, चेस, टिभी, लगायत खेलका माध्यमबाट सिकाईने शैक्षिक सामाग्रीहरु छन् । ती सामान युएमएन र प्रगतीशिल युवा समाजले सहयोग गरेको हो ।
विद्यालयमा बौद्धिक आपाङ्गता भएका बालबालिकाहरुका लागि निःशुल्क अध्ययनसहित छात्रबासको ब्यवस्था छ भन्नेबारे जिल्ला भरी प्रचार नभएका कारण विद्यार्थीहरु न्युन रहेको विद्यालयका प्रचार्य मोहन थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्