
काठमाडौं, असोज २८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दशैं, तिहारपछि बस्ने भएको छ ।
यसअघि दुईपटक मिति तय भएर स्थगित भएको बैठक दशैं, तिहारपछिमात्रै बस्ने भएको हो ।
कोरोनाको संक्रमण बढेको र धेरैजना एकैपटक भेला भएर छलफल गर्नसक्ने अवस्था नभएका कारण दशैंअघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
सम्भव भए कोजाग्रत पूर्णिमाको केही दिनपछाडि सबैको ‘पीसीआर’ परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उहाँले बताउनुभयो ।
दशैं र तिहारको बीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माले बताउनुभयो ।
विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।
पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखितरुपमा पेस गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेन्डा रहेको थियो ।
प्रवक्ता शर्माले आउँदो फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताउनुभयो ।
फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्नेगरी तयारी गरिने उहाँले बताउनुभयो ।
यसअघि, पहिलोपटक यही असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो ।
दोस्रोपटक असोज २५ गतेका लागि बैठक बोलाइएको भएपनि पार्टीका पूर्वकोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्