
काठमाडौं । फ्रान्सले कोरोना संक्रमण दर उच्च हुँदै गएपछि स्वास्थ्य आपतकाल लागू गर्दै राजधानी पेरिससहित ९ वटा शहरमा ४ साताका लागि कफ्र्यू आदेश जारी गरिएको छ ।
फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले टेलिभिजन सन्देशमार्फत राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि कफ्र्युृ आदेश जारी गरिएको जानकारी दिनुभयो ।
सन्देशमा उहाँले कफ्र्यूको समयमा कोही पनि ब्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गर्दै कोरानाको कहरका बीच लागू गरिएको कफ्र्यु आदेशलाई अक्षरश पालना गर्न आम नागरिकलाई अपील समेत गर्नुभएको छ ।
साथै उहाँले हाललाई ४ साताका लागि लगाइएको कफ्र्र्यू ६ साता सम्म लम्ब्याउने संकेत समेत गर्नुभयो । कोराना महामारीको दर दिनप्रतिदिन बढ्दै गएकाले कफ्र्यू लगाउन बाध्य भएको जानकारी राष्ट्रपति म्याक्रोनले दिनुभएको छ ।
यसैबीच युरोपका अधिकांश राष्ट्रहरुले कोरोना संक्रमण नियन्त्रणका लागि प्रतिबन्धहरु लगाउन थालेका छन् । बेलायतमा हिजोबाट लागू हुने गरी तीन तहको प्रतिबन्ध लागू गरिएको छ ।
बेलायतमा रुल अफ सिक्स लागू गरिएको छ । जसअनुसार घर बाहिर र घरभित्र ६ जनासम्म भेला हुन पाइने, रेष्टुराँ र बार तथा पबहरु राति १० बजेपछि बन्द गर्नुपर्ने नियम लागू गरिएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरानो संक्रमणको दर उच्च रहेकाले सो नियम लागू गरिएको जानकारी दिनुभयो ।
जर्मनीमा सञ्चालनमा रहेका बार र रेष्टुराँहरु रातको समयमा चाँडै बन्द गर्ने मापदण्ड तय गरिएको छ ।
उता स्पेनको क्याटालोनियाका सम्पूर्ण रेष्टुराँ र बारहरु १५ दिनका लागि बन्द गरिएको छ । आगामी नोभेम्बरसम्म लकडाउन गर्ने सरकारले जनाएको छ ।
यसअघि चेक रिपब्लिकको अधिकाशं अस्पतालहरुमा कोरोना संक्रमितको चाप बढेपछि लकडाउन लागु भइसकेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्