२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


नव नियुक्त तीन मन्त्रीले लिए सपथ


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले नवनियुक्त तीन मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।

राष्ट्रपति निवास शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त तीन मन्त्री विष्णु पौडेल, लिलानाथ श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराउनुभएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयमा विष्णु पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गर्नुभएको हो ।

यस्तै यसअघि महिला मन्त्रालय सम्हाल्नुभएका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै कायम गरिएको छ ।

उपप्रधानमन्त्री एव रक्षामन्त्री इश्वर पोखरेलको जिम्मेवारी भने खोसिएको छ । प्रधानमन्त्री मन्त्री परिषद कार्यालय हेर्ने गरी उहाँलाई उपप्रधानमन्त्रीको मात्रै जिम्मेवारी दिइएको छ ।

यता, मन्त्रीमण्डल हेरफेर भएपनि नेकपाको शीर्ष तहमा असन्तुष्टि कायमै छ । प्रधानमन्त्री ओलीले आफू निकटकालाई मन्त्री बनाएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष असन्तुष्ट देखिएको हो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको ठोस सहमती बिना आफूखुसि मन्त्री नियुक्त गरेको भन्दै दाहाल–नेपाल असन्तुष्ट देखिएका हुन् ।

अध्यक्ष प्रचण्डले अर्थमन्त्री बाहेकका अन्य मन्त्री नियुक्तीमा असन्तुष्टी जनाउनुभएको हो ।

मन्त्री हेरफेरका विषयमा लगातार केहि दिनदेखि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच निरन्तर छलफल चलिरहे पनि सहमति भएको थिएन ।

यता वरिष्ठ नेता माधव कुमार नेपाल आफू निकटलाई अर्थमन्त्री बनाउने कसरतमा जुट्नुभएको थियो ।

तर बिना जानकारी र सहमती नभई प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गरेपछि नेपाल पक्ष रुष्ट भएको हो ।

यसअघि पनि राजदूत नियुुक्तिमा प्रधानमन्त्री ओलीले आफूखुशी गरेको भन्दै शिर्ष नेतृत्वमा नै असन्तुष्टी देखिएको थियो ।