४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


‘ग्यास विस्फोट’ हुँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु


0
Shares

कैलाली, असोज २९ । धनगढीमा ‘लिक’ भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर-८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाइते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बिर्माको उपचारकाक्रममा काठमाडौंमा मृत्यु भएको जानकारी दिनुभयो ।

प्रहरीकाअनुसार घाइते अवस्थामा रहेका मृतकका श्रीमान् हरिलाल विष्ट र उनकी नातिनीको अवस्था भने खतरामुक्त छ ।

उनीहरुको पनि काठमाडौंमै उपचार भइरहेको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

धनगढीमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि बुधबारै बेलुका काठमाडौं लगिएको थियो ।

बुधबार बिहान हरिलालले बजारबाट सिलिन्डर ल्याएर रेगुलेटर लगाउनेक्रममा ग्यास लिक भएको जनाउँदै उहाँले सोही बेला ग्यास बाल्दा भान्छामा जम्मा भएको ग्यास विस्फोट भएको पाइएको बताउनुभयो ।

पर्याप्त हावा नभएको कोठामा ग्यास लिक भएकै अवस्थामा बाल्दा एक्कासि विस्फोट भएर भान्छा कोठाको छत उडाएको र भित्तासमेत भत्काएको उनले जानकारी दिनुभयो ।