२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी…


0
Shares

काठमाडौं, असोज २९ । एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए । तर, कसैले पत्तो पाउन सकेनन् ।

उसले प्रहरीले बोक्नेजस्तै सञ्चार सेट (वाकिटकी) र सुरक्षा निकायको पोसाकसमेत प्रयोग गर्दै काठमाडौं उपत्यकामा व्यवसायीलाई प्रभाव पार्दै कतिपयबाट रकमसमेत लिएको जनाइएको छ ।

अन्तत दुई वर्षपछि बिहीबार महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेपछि रहस्य खुलेको हो ।

उनी नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै हिँड्ने व्यक्ति भएको महाशाखाले जनाएको छ ।

आफू सुरक्षाकर्मी भएको बताउँदै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उक्त सूचना प्राप्त भएपछि महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले बिहीबार बिहान रामेछाप, खाडोदेवी घर भइ काठमाडौंको बानियाँटार बस्ने गोविन्द खड्कालाई पक्राउ गरेको थापाले बताउनुभयो । उनले प्रहरीको ‘नेम प्लेट’ तथा लुगासमेत प्रयोग गर्दै आएका थिए ।

उनको साथबाट सञ्चार सेट, गोविन्द खड्का लेखिएको ‘नेम प्लेट’, विभिन्न सुरक्षा निकायको पोसाक, सुरक्षाकर्मीले लगाउने बुट जुत्तालगायत बरामद गरिएको छ ।

बरामद सञ्चार सेटले अन्य सुरक्षा निकायका सञ्चार सेटका फ्रिक्वेन्सी टिप्ने गरेको पाइएको छ । उनले सेनाको पोसाककोसमेत दुरुपयोग गरेको पाइएको छ ।

बरामद भएको सञ्चार सेट विदेशी पर्यटक सगरमाथा आरोहणको समयमा आउनेक्रममा नेपालीलाई राख्न दिएको र त्यही सेट दुरुपयोग गर्दै आएको प्रहरीले जनाएको छ ।

महाशाखाले कोही कसैलाई विभिन्न प्रभावमा पारी ठगी गरेको भएमा सम्पर्कमा आउन अनुरोध गरेको छ । उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।