२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

अर्थमन्त्रीसामु चुनौतीको चाङ


0
Shares

काठमाडौं, असोज २९ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा गरेको लगभग डेढ महिनापछि अर्थ मन्त्रालयको बागडोर विष्णु पौडेलको काँधमा आएको छ ।

कोरोना महामारीले अर्थतन्त्र थलिएको अवस्थामा पौडेलसामु अहिले चुनौतीको पहाड नै छ ।

यो विषम परिस्थितिमा मुलुकको ढुकुटीको तालाचाबी लिएका पौडेलले मुलुकलाई कुन दिशातर्फ लैजालान् त ? सबैको चासो बनेको छ ।

कोरोना कहरका कारण यतिबेला अर्थतन्त्र गम्भीर मोडमा पुगको छ । यो अवस्थामा अर्थ मन्त्रालयको बागडोर सम्हान्न नेता विष्णु पौडेलको प्रवेश भएको छ ।

अर्थ मन्त्रालय पौडेलका लागि नयाँ त होइन, तर अहिले परिस्थिति फरक छ । तत्कालीन समयमा कर्मचारीको तलब वृद्धि, वृद्धभत्ता दोब्बर, केही कर छुट दिएर लोकप्रियता कमाएका पौडेललाई यसपटक भने अर्थतन्त्र जोगाउनु नै मुख्य चुनौतीे छ ।

निजी क्षेत्रको मनोबल खस्किएको छ । नयाँ लगानी प्रायः ठप्प छ । रोजगारीको ठूलो समस्या हुने अवस्था देखिएको छ । रोगभन्दा पनि भोकको भय बढ्दो छ ।

रोगबाट बच्न बालबच्चा च्यापेर स्वदेश फर्किएका नेपाली अहिले भोकको भय बढ्न थालेपनि फेरि दिनमै दशौं हजारौंका दरले भारततर्फ लाग्न थालेका छन् ।

कोरोनाको असर कहिलेसम्म रहन्छ र अर्थतन्त्र कस्तो अवस्थामा पुग्छ भन्ने अहिले नै आँकलन गर्नसक्ने अवस्था छैन । तर, अर्थमन्त्री पौडेलको पहिलो प्राथमिकता रोजगारी र राहतलाई नै दिनुपर्ने विज्ञहरु बताउँछन् ।

रोजगारी बचाउन सकेको खन्डमा माग हुने यसले उत्पादनमा प्रोत्साहन गर्ने र अर्थतन्त्र चलायमान हुने विश्वास गरिएको छ । यसका लागि सरकारका रोजगारका कार्यक्रमलाई पनि प्रभावकारीरुपमा अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता छ ।

यसैगरी, कर्मचारी रिझाएर काम गर्नसक्ने र निजी क्षेत्रसँग पनि सहकार्य गर्ने क्षमता भएको भन्दै पौडेलको नियुक्तमा निजी क्षेत्र पनि उत्साहित छ ।

यसअघि, भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला (२०७२ कात्तिक १९ गते)मा अर्थतन्त्रको बागडोर सम्हाल्नुभएका पौडेल अहिलेपनि कोरोनाभाइरसका कारण अर्थतन्त्रमा गम्भीर असर परेको अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुग्नुभएको छ ।

विगतमा अर्थ, रक्षा, जलस्रोत, युवा तथा खेलकुदजस्ता मन्त्रालयको जिम्मेवारी पूरा गरिसकेका मन्त्री पौडेलले विषम परिस्थितिमा दोस्रोपटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।

भिडियो हेर्नुहोस्