१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अश्लील सन्देश पठाउनेविरुद्ध मुद्दा


0
Shares

काठमाडौं, असोज २९ । नक्कली फेसबुक पेज बनाइ अश्लील र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोस्ट गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।

प्रहरीको साइबर ब्यूरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका-५ बस्ने किरण बुढाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको ब्यूरोले बिहीबार विज्ञप्ति जारी गरी जनाएको छ ।

उनले ख्यातिप्राप्त महिला कलाकारको फोटोको स्वरुप बिगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो ।

‘हाम्रो ढकारी गाउँपालिका अनलाइनखबर’ नामको पेज बनाएर बुढाले अश्लील गतिविधि सञ्चालन गरेको पाइएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिनुभयो ।

उनीविरुद्ध अछामको ढकारी गाउँपालिकाले नामको अनधिकृत पेज बनाइ गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुनअनुसार कारबाहीका लागि ब्यूरोमा पत्राचारसमेत गरेको थियो । सोही निवेदनका आधारमा उनीमाथि ब्यूरोले अनुसन्धान थालेको थियो ।

उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले हदैसम्मको सजाय माग दाबी लिइ जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको ब्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच, ब्यूरोले बाल अश्लीलता फैलाउने काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-८ बस्ने प्रविण ढकालविरुद्धसमेत मुद्दा चलाइएको जनाएको छ ।

सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अश्लील श्रव्यदृश्य पठाइ हैरानी पारेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर गरेकाले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको अर्यालले बताउनुभयो ।