
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि काठमाडौं उपत्यकामा खसीबोका भित्र्याउने भएको छ ।
बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुलियत दिनका लागि कम्पनीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरेर ल्याउन लागेको हो ।
दशैंमा बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा बजार मूल्य नियन्त्रण गर्नका लागि ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
यो वर्ष च्याङ्ग्रा खरिद गर्न नपाइएकाले खसीबोका मात्र ल्याउन लागिएको कम्पनीका नायव महाप्रवन्धक श्रीममणिराज खनालले जानकारी दिनुभयो ।
च्याङ्ग्रा खरिद गर्न नपाएकाले यो वर्ष बिक्री नगर्ने उहाँको भनाइ छ । यो वर्ष पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याइने र माग बढ्दै गयो भने थप गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
कोराना भाइरसको कारणले गर्दा यो वर्ष अघिल्ला वर्षको तुलनामा खसीबोकाको खपत कम हुने अनुमान गरिएको छ ।
दशैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुँदा व्यवसायीले बढी मूल्य निर्धारण गरि उपभोक्ता ठगिने सक्ने भन्दै कम्पनीले बजार मूल्य हस्तक्षेप गर्नका लागि खसीबोका बिक्री गर्न लागेको जनाएको छ ।
कम्पनीले प्रतिकेजी १० रुपैयाँ छुट दिने भएको छ । कम्पनीले गत वर्ष १८ करोड ७८ लाख ५ हजार रुपैयाँ लागतमा एक हजार संख्यामा खसीबोका र ३८ करोड ३२ लाख २१ हजार लागतमा २ हजार संख्यामा च्याङ्ग्रा ल्याएर बिक्री गरेको थियो ।
व्यवसायीले पनि दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्राउन सुरु गरेका छन् । दशैंमा खसीबोकाको खपत धेरै हुने भएकाले व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका ल्याउन थालेका हुन् ।
यो सातादेखि दैनिक ठूलो संख्यामा उपत्यकामा खसीबोका भित्रिरहेको व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्