
-संजिव कार्की
केही दिनअघि आफ्नो जिल्ला गोरखा पुगेर बाबुराम भट्टराईले जुनकुरा बोले त्यसबाट उत्पन्न तरंग एक टिभी अन्तर्वार्ताको क्रममा पुष्टि र पुनर्पुष्टि गर्ने प्रयास गरेर जुन सङ्गीन आरोप प्रचण्ड, ओली र देउवालाई पोले त्यो पोलाईको दर्द शायद उहाँहरुले महशुस गर्नु भएको पक्कै होला । बाबुरामले हानेको चड्कन ओलीले गैरजिम्वेवार अभिव्यक्ति भनेर ऐया गरिसक्नु भएको छ । प्रचण्ड र देउवाले भने आफ्नै मुखले ऐयाको चित्कार सुनाउन सक्नु भएको छैन । कांग्रेसले प्रबक्ता विश्वप्रकास मार्फत चुनौती दिएको छ भने नेकपाका प्रबक्ता नारायणकाजीले खण्डनको कागज पेश गर्नु भएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जे बोल्नु र खोल्नु भएको छ त्यसको निराकरण केवल बिरोधमा वक्तव्य र आरोपका लागि आरोप भनेर बस्ने छुट कसैलाई मिल्दैन । बाबुरामको आरोप सडकमा हिड्ने मानसिक सन्तुलन गुमेको र नानाभांती भन्दै हिड्ने मान्छेको बोली होइन । देशको कार्यकारी प्रधानमन्त्री भैसकेका देश बिदेशमा नाम चलेका व्यक्ति र संसद्को तेस्रो ठूलो दल राजपाका वरिष्ठ नेताको सार्वजनिक अभिव्यक्ति हो ।
यस्तो गम्भीर प्रकृतिको अभिव्यक्ति बिना आधार र बिना प्रमाण दिने छूट बाबुरामलाई छैन । बाबुरामले पनि कि प्रमाण पेश गर्नुपर्ने कि सफेद झुट बोलेकोमा दण्डित बन्नु पर्यो । उनले भनेकै छन् यदि झुट र नाजायज आरोप लगाएको भए म सार्वजनिकरुपमा झुन्डिन तयार छु । अपराधी करार भएर दण्डित हुन् राजी छु । यो हिम्मत यो साहस अरु उपल्लो स्तरको नेताहरुबाट आजसम्म आउन सकेको छैन । तसर्थ बाबुरामको घोषणा स्वागतयोग्य र तरंगित बनाउन काफी छ
। ठूला साना सबैलाई कानुन एकै हो लाग्छ बराबरी हुन्छ भन्ने विधिशास्त्रीय मान्यता लेखाई र बोलीमा भएपनि हाम्रो देश र विश्वका थुप्रै देशमा यो हांस्यास्पद देखिएको व्यावहारिक प्रमाण छन ।
नेपालको हकमा यो दैनदिन देखिन्छ कि ठूलालाई उन्मुक्ति सानालाई कानुनले कर्यापझ्याप तसर्थ आशा गर्ने ठाउँ त छैन । यद्यपी, बोल्ने लेख्ने अधिकारको भने प्रयोग गरिन्छ । बाबुरामको यो वाणीलाई मुर्त रुपमा देख्ने सपना पालिन्छ । यतिबेला बाबुराम यसर्थ पनि ठिक लाग्छ कि उनले पहिले पनि संसदमा प्रधानमन्त्री ओलीके तेर्हथुमको बुकुरो जन्म घर देखेपछि भनेका थिए । मेरो पनि त्यस्तै छ त्यो भन्दा केही राम्रो होला त्यस्तो घरमा जन्मेका हामी आज रातारात कसरी धनी भयौ ? गाडी, बंगला, बैंक ब्यालेन्स कसरी जोडियो म अर्थ शास्त्रको पनि विद्यार्थी थोर बहुत हिसाब पनि जान्दछु । अर्थमन्त्री पनि भै सकेको व्यक्ति तर हाम्रो अहिलेको आयले त्यो सम्भव छैन, देखिन्न । त्यसैले पनि सम्पतिको श्रोत खुल्नु र देखिनु आवश्यक छ । हामी राजनीति गर्ने मान्छे कसरी एकाएक धनी भयौ ?
कुनै पेशा ब्यबसाय गर्नेले आर्थिक उन्नति र तरकी यो बिचमा गर्न सक्छ तर राजनीतिमा लागेर संसद, मन्त्री ,प्रधानमन्त्री र नेता हुँदैमा यो कसरी सम्भव हुन्छ ? के राजनीतिक नेताहरुको बैधानिक आयले आर्थिक अवस्थामा यत्रो फेरबदल गर्ने हैसित राख्छ ? कुन आयश्रोतले नेताहरुको आर्थिक उत्थान भयो ? यसको जबाफ कसैले दिनु पर्दैन ? बाबुरामले आफू सहित सबैको सम्पति छानबिन गर्ने जुन प्रस्ताब गरे त्यो एउटा साहस पनि हो । किनकि बाबुराम पत्नी हिसिलालाई न्युयोर्क टाइम्सले एशियाकै भ्रष्ट महिलाको सुचिमा राखेको प्रचार गरिएको थियो । यो आरोपको प्रतिवाद मात्रै हो भने बाबुराम पुङ्ग न पुछरका हुन्छन् यदि होइन भने उनको स्वच्छता, पारदर्शिता र सिम्पल लिभिंग स्टांडरले अरु चुली छुन्छ । उनको इमान र आर्थिक पारदर्शिता उज्यालिन्छ । बाबुरामले भने झैँ हिम्मत गर्नुहुन्छ नौ अरबका बात लागेका नेताहरू प्रचण्ड, ओली र देउवाले ?
संसद्को रोष्टममा उभिएर लौ हामी सबैको, हाम्रा सबैको छानबिन गरौं जो हामी तीस बर्षदेखि सत्ता र सत्ताको नजिक छौं । थुप्रै अवसर लिएका राज्यको उपल्लो निकायमा पुगेकाहरुको सम्पति छानबिन गर्ने स्वतन्त्र निष्पक्ष र शक्ति सम्पन्न छानबिन आयोग घोषणा गर्ने र अनुसन्धानमा सघाउने प्रतिबद्दता गर्ने ह्याउ छ कसैको ? यदि त्यसो गर्न सक्नुहुन्न भने तपाईहरु भ्रष्टचारको संरक्षक मतियार र भ्रष्टचारी हो भन्ने प्रमाणित हुन्छ । आर्थिक अपचलन गरिएको छैन भने छानबिनसँग डराउनुपर्ने किंचित कारण छ र ? भ्रष्टचार नेताको कारण मौलाएको, फस्टाएको, राजनीतिक पार्टीको नेता, संसद,मन्त्री र प्रधानमन्त्रीले भ्रष्टाचार गर्दैनन् भनेर पत्याउने कुनै मान्छे छैन ।
यत्रतत्र सर्वत्र भ्रष्टाचार महारोग र महाअपराधको रुपमा चर्चित र परिभाषित छ तसर्थ राजनीति सफा र निस्कलंकित बनाउन भ्रष्टचाररुपी क्यान्सरको सल्यक्रिया गर्नु जरुरी छ । त्यो तपाईहरु बाट शुरु गर्नुपर्ने देखिन्छ । प्लिज नेताहरु युग युगसम्म अमर बन्ने हो भने भ्रष्टाचार गरेको कलंक र बात लागेर नमर्नुस । गल्ती छ भने दण्डित बन्नुस बेकसुर हुनुहुन्छ भने छानबिन आयोगको चारित्रिक प्रमाणपत्र लिएर बस्नुस । पूर्वप्रधानमन्त्री बाबुरामको प्रतिवाद गर्दै नेकपाका नेताहरु बोलेको देखिन्छ अनुहार हिसिला तिर पनि फर्काएर बोल्नु भएको कि मानसिक सन्तुलन खलबल भएको प्रलाप ।
प्रिय नेकपाका नेता कार्यकर्ता र अन्य केही कांग्रेसी मित्रहरु यतिबेला नेकपाको सरकार छ उसले चाह्यो भने नहुने र गर्न नसक्ने कुरा केही छैन हिसिला बाबुराम सबैलाई च्याप समातेर छानबिन गर्न किन खुट्टा कमाउनु हुन्छ ? बोलीले प्रतिवाद, व्यङ्ग्यले बिरोध होइन कानुनको डण्डा झिकेर बाबुराम र हिसिला या अरु कुनैलाई किन हान्न सक्नु हुन्न ? किन सक्नुहुन्न थाहा छ बाबुराम र हिसिला लगायतलाई पुर्न खनेको खाडल तपाइहरुको लागि पनि स्थाई वासस्थान हुन्छ । तसर्थ तै चुप मै चुप बलराम भो भो नबोलम हैन त ? किनकी तपाईहरु आजसम्मको नेतृत्व कांग्रेस कम्युनिस्ट सबै सबै कहीँ न कहीँ चुक्नु भएको छ । जानेर कहिलेकाँही कोही कोही नजानेर पनि होला चिप्लनु भएको छ । डाइरेक्ट इनडाइरेक्ट बिक्नु भएको छ ।
तपाई नेता गणलाई पक्कै थाहा छ चुनाव तपाई आफ्नो खर्च र सामर्थ्यले लड्नु भएको छैन । त्यसैले पनि तपाईहरु चाहेर पनि जनताको नजरमा आसलाग्दो देखिएर पनि केही गर्न सक्नुहुन्न किनकी अर्काको लागि काम गरिदिनु छ । चुनावमा गरेको सहयोगको गुण सम्झनु छ । होइन भने एक व्यक्ति निरन्तर १९औं पटक अनशन गरेर सुशाशनको माग गर्दा अलिकति पनि लाज र सरम भएन है ? गोविन्द मान्छेहरुको रुचीमा परेको कारण ऊ भगवान र सर्वशक्तिवान बिष्णुको अबतार भएर पक्कै होइन । उसको आचरण, निष्ठा लगाव र देश प्रतिको समर्पणले हो । राज्यको प्रणाली ध्वस्त भएको कारण एक व्यक्ति हिरो भएकोमा अलिकति संकोच त मान्नुस । अलिकति लाज त राख्नुस ।
यति राम्रो सुब्यवस्थित प्रणालीमा किन एक व्यक्तिको समर्पण राज्य भन्दा बलियो हुन्छ ? कारण खोज्नु भएको छ ? सुशासन नहुनुको जड र मूल कारण देशमा विद्यमान भ्रष्टचार र अनियमितता हो भन्ने कुरा घाम झैँ छर्लंग छ । तपाइहरु डोकोले लाज छोपेर बस्नु भएको छ । नेताहरु हिम्मत गर्नुस भ्रस्टाचार उन्मुलन गरेर देशलाई समुन्नत बनाउन लाग्नुस् िजनताको आर्थिकस्तर झन् गए गुज्रेको हुने नेताको चमत्कारिक ढंगले वृद्दि हुने यसको सब जड भ्रष्टाचार, नीतिगत भ्रष्टचार हो । प्रक्रिया पुर्याएर गरिने नीतिगत भनिने कतिपय निर्णय ,अधिकार र स्वविवेकीय निर्णयको पनि परिभाषा फेरिनुपर्छ । यस्ता निर्णय प्रक्रिया र पद्दतिको मुल्यांकन ,पुनरावलोकन गरिनुपर्छ । अन्यथा भ्रष्टचार घट्ने छैन ।
बैधानिकताको जामा पहिराएर गरिने निर्णय प्रक्रिया त्यसको दुरगामी प्रभाव र असर विगत र वर्तमान, आगतको समीक्षा जरुरी छ । भ्रष्टचारजन्य अपराधको लागि फाँसीको समेत माग हुन् थालेको छ । तर त्यो बहस कै विषय हो । आम मान्छेको मनमा भ्रष्टचार नेताले गर्छन, कर्मचारीले गर्छन, राजनीतिक पार्टीका नेता कार्यकर्ताले गर्छन भन्ने गहिरो छाप, विश्वास र प्रभाव छ । त्यो आगामी केही वर्षमा हटाउन सकिएन भने जनता यो व्यवस्था र प्रणाली कै विरुद्द आँधीबेहरी ल्याउने तागत राख्छन । सबै पार्टीका नेताकार्यकर्ताले बाबुराम भट्टराईले दिएको च्यालेन्ज स्वीकार गरेर शक्तिशाली भ्रष्टचार निवारण आयोग बनाउन पहल गरुन् । सकिदैन भने वर्तमानमा अस्तित्वमा रहेको अख्तियार दुरुपयोग निवारण आयोग र सम्पति सुद्दिकरण आयोगलाई तटस्थ, निस्पक्ष र नीर्भिक बनाउन भूमिका खेलुन र आफू र आफ्नाको सम्पति छानबिन गर्ने स्वीकृति प्रदान गरेर विकृति अन्त्यको शुरुवात आफैलाई दण्डित गरेर गरुन् ।
बाबुरामले प्रधानमन्त्री ओलीको प्रतिवादलाई ढाँटको निम्तो खाइ पत्याउनु भनेर व्यंग कसिसकेका छन् । प्रधानमन्त्री ज्यू तपाई तयार हो बाबुरामको प्रस्ताब मान्न ? बुढी गण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नी, सत्तरी करोडको डिल, बालुवाटार जग्गा प्रकरण, लडाकु शिविरमा भएको घोटाला लगायत आज र हिजो भएका चर्चित भ्रष्टचार काण्डको उच्चस्तरीय छानबिन आयोग बनाएर प्रमाण पुग्नेलाई ठोक्न अब केले रोक्ने छेक्ने ?
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ज्यू आज मात्रै किन तपाई बोल्नु भयो ? हिजो नेकपा बन्न तयार तपाई आज चै कुन बाध्यताले तीन नेता मिलेर नौ अर्ब खाएको भन्न सक्नु भयो ? कहिले नेकपा बन्न तयार कहिले कांग्रेसको बुइ चढेर चुनाव जित्न तयार तपाई राजनीतिक नैतिकता च्युत गरेपछि मात्रै बोल्नु भयो किन ? आफूले थाहा पाएको यस्तो गम्भीर प्रकृतिको भ्रष्टचार जन्य कसुर लुकाएर राख्नु पनि एक किसिमको अपराध नै हो नि हैनर डाक्टर साब ? यद्यपी, ढिलो भए पनि नेताहरुलाई सिस्नुपानी र चड्कन हान्नुभयो तपाईलाई धन्यवाद छ । तपाई अर्थमन्त्री र प्रधानमन्त्री भै सकेको व्यक्ति अरु नीतिगत भ्रष्टचार कसरी हुन्छ र त्यो रोक्न के गर्नुपर्छ त्यो बारेमा पनि सविस्तार बोल्नुस है । आफ्नो र हिसिला म्यामको प्रतिरक्षा गर्न अस्त्र फ्याँकेको आरोपबाट मुक्त बन्न अब तपाई पार्टी भन्दा माथि उठेर भ्रष्टचार बिरोधि नेता र अभियन्ता बनेर छाउनुपर्छ । प्रधानमन्त्री ओलीले भने झैँ गलत सूचना दिएको र भ्रम छर्नेगरि गैरजिम्वेवार कार्य र आफू वच्ने उपायको बार्गेनिङ गर्नु भएको हो भने त्यो कहिल्यै क्षम्य हुन सक्दैन ।
प्रतिक्रिया दिनुहोस्