
चितवन, कात्तिक १ । खैरहनी नगरपालिका वडा नम्बर-१२ का वडासदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।
भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको शुक्रबार राति मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलकाअनुसार उहाँमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहनुभएकोमा उहाँलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।
खोकी र श्वासप्रश्वासमा समस्या रहेको उहाँको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचारकक्षमा भेन्टिलेटरमा राखी उहाँको उपचार भइरहेको थियो ।
उहाँ नेपाली कांग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी हुनुभएको थियो । नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गर्नुभएको छ ।
यसअघि, जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर-२० का निर्वाचित वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्