
रुपन्देही, कात्तिक १ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत् दुई कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१०, भृकुटीनगर निवासी ६१ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँकाअनुसार असोज २५ गते अस्पताल भर्ना हुनुभएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो ।
संक्रमित पुरुषलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने प्लाज्मा थेरापीलगायत सबै प्रकारको उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि ‘आईसीयू’मा उपचारकैक्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको हो ।
ती पुरुषको असोज २४ गते स्वाब संकलन गरिएको थियो भने ‘पीसीआर’ रिपोर्ट असोज २५ गते ‘पोजिटिभ’ आएको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि असोज २९ गते अस्पताल भर्ना हुनुभएकी १८ वर्षीय युवतीको शुक्रबार राति १० बजे मृत्यु भएको छ ।
उहाँलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि आईसीयूमा उपचारकैक्रममा मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकका आफन्तसँगको समन्वयमा शवको व्यवस्थापन तयारी भइरहेको जानकारी दिनुभयो ।
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ भने बाहिरी जिल्लाबाट आइ उपचारको क्रममा अस्पतालमै मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्