१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वसन्तपुरको दसैंघरमा पनि राखियो जमरा


0
Shares

काठमाडौं, कात्तिक १ । नवरात्रको पहिलो दिन आज घटस्थापना ।

घटस्थापनाको अवसरमा नेपालीहरुको घर-घरमा बडादसैंको जमरा राखिएको छ ।

दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घर-घरमा जमरा राख्ने गरिन्छ ।

घटस्थापनाकै दिन काठमाडौंको वसन्तपुरमा रहेको दसैंघरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाइँ गरेसँगै शनिबार बिहान ११ः४६ को शुभसाइतमा जमरा राखिएको हो ।

कोभिड-१९ का कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदन्ड अपनाएर जमरा राखिएको शार्दुलजंग गुल्मका गुल्मपति सेनानी विकाश शाक्यले बताउनुभयो ।

विश्व नै कोभिड १९ बाट प्रभावित भएपनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा रोप्ने गरिन्छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।