८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आदिकवि भानुभक्त आचार्यको जन्मस्थल ओझेलमा, जन्मघर जीर्ण (हेरौं भिडियो)


0
Shares

-उपेन्द्र खनाल/ईमेज

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल ओझेलमा पर्दै गएको छ ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित ऐतिहासिक धरोहर आदिकविको जन्मघर जलेर ध्वस्त भएको १७ वर्ष पुग्न लाग्दासमेत पुनर्निर्माण भएको छैन । स्थानीयबासी तथा साहित्यिक पर्यटकहरु भानुको जीर्ण घर देखेर निराश छन् ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जीर्ण घर नजिकै सस्ंकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले २ करोड ६५ लाख रुपैयाँमा रामायण भवन निर्माण गरिरहेको छ ।

भवनको बाहिरी संरचना निर्माणको काम सकिएको छ । तर नजिकै रहेको आदिकवि आचार्यको घरको अवस्था भने विजोक देखिन्छ ।

रामायण भवन बने पनि आचार्यको घर नबन्नु दुर्भाग्य भन्दै अवलोकनका लागि आएका साहित्यकारहरु समेत निराश हुँदै जाने गरेका छन् । 

स्थानीय लक्ष्मी आचार्य राज्यले चासो नदिँदा भानु जन्मस्थल ओझेलमा परेको बताउँछन् ।

स्थानीय सरकारले संघीय सरकारसँग मिलेर यसको पुनर्निर्माण गर्नुपर्ने स्थानीयको भनाइ छ ।

विगतका वर्षमा भानुजयन्तीका लागि व्यापक प्रचारप्रसार हुने गरेको भए पनि यसवर्ष भने त्यस क्षेत्रमा खासै चहलपहल छैन ।

२०७३ मा तत्कालीन मुख्यसचिव डाक्टर सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वमन्त्री माधव घिमिरे र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गरेका थिए । तर यति लामो समय वितिसक्दासमेत पुननिर्माण भएको छैन ।

भानुको जन्मस्थलसम्म बाह्रै महिना चल्ने बाटो नबन्नु, पानीको समस्या हुनेलगायतका कारणले घर निर्माणमा ढिलाइ भएको बताइएको छ ।

स्थानीय हृदयनाथ आचार्यले भानु जन्मस्थललाई केन्द्रीय सरकारको मातहतमा नै राखेर काम अघि बढाउनुपर्ने बताउँछन् ।

पर्यटकमार्फत् यस क्षेत्रको विकास गर्न घरमात्र नभई आदिकवि आचार्यको पहिचान झल्कने संरचना निर्माण आवश्यक छ ।

चुँदीरम्घालाई भानुग्रामको ढाँचामा विकास गर्न सके नयाँ घरमा भानुभक्त सम्बन्धी ऐतिहासिक सामग्री, उनका कालजयी कृति, उनको व्यक्तित्वसँग सामीप्यता राख्ने वस्तुसमेत राख्न सकिनेछ ।

भानु नगरपालिकाकी उपमेयर आशा थापाले स्थानीय सरकारले भानुभक्तसँग सम्बन्धित सबै पक्षलाई समेटेर भानुग्रामको विकास गर्ने पहल भइरहेको बताए ।

स्रस्टाको सम्मानका लागि पनि आदिकविको घर छिटोभन्दा छिटो पुनर्निर्माण गरी ऐतिहासिक सम्पदाको संरक्षण गर्नु जरुरी छ ।