२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाह्रदशी गाउँपालिकामा खानेपानीका छ आयोजना सञ्चालनमा


0
Shares

झापा, कात्तिक १ । झापाको बाह्रदशी गाउँपालिकाभित्र खानेपानीका छओटा आयोजना निर्माणाधीन अवस्थामा छन् ।

बाह्रदशी गाउँपालिकाका सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप गाउँपालिकाभित्र निर्माण भइरहेका आयोजनामध्ये वडा नम्बर-६ को साधुकुटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलेमात्रै खानेपानी वितरण सुरु गरेको छ ।

५४ करोड रुपैयाँको लागतमा झापाको बाह्रदशी गाउँपालिकामा खानेपानीका छ आयोजना सञ्चालनमा छन् ।

खानेपानीका आयोजना सञ्चालनका लागि नेपाल सरकार, खानेपानी मन्त्रालयसहित ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोगमा एउटै गाउँपालिकाभित्र छओटा आयोजना सञ्चालनमा आएका हुन् ।

जसमध्ये बाह्रदशी गाउँपालिका–६ मा रहेको साधुकुट्टी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी वितरण सुरु गरेको छ ।

मधेसभित्रको पहाडका रुपमा चिनिएको बाह्रदशी गाउँपालिका–६, साधुकुट्टीमा खानेपानी आयोजनाले पानी वितरण सुरु गरेसँगै त्यस क्षेत्रका सर्वसाधारण खुसी देखिएका छन् ।

अहिले बाह्रदशी गाउँपालिकाको वडा नम्बर ५ मा तीनओटा, वडा नम्बर-२ र ३ मा एक/एकओटा खानेपानी आयोजना सञ्चालनमा छन् ।

जसमध्ये घोडामारा, नवपाञ्चायन र राजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी वितरणको तयारी थालेको छ ।

ट्यांकी निर्माणको काम अन्तिम चरणमा पुगेकाले खानेपानी वितरणका लागि पाइप बिछ्याउने काम अघि बढाएको बताइएको छ ।

गाउँपालिकाका वडा नम्बर-२ र ५ मा खानेपानी ट्यांकी निर्माणको काम भइरहेको छ ।

गाउँपालिकामा सञ्चालित सबै आयोजना सञ्चालनमा आएसँगै स्थानीय ३९ हजार ६२२ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

खानेपानी आयोजना सञ्चालनमा आएसँगै यस क्षेत्रका नागरिकले ट्युबेलको पानी उपभोग गर्नुपर्ने बाध्यतासमेत हटेर जाने भएको छ ।

भिडियो हेर्नुहोस्