
काठमाडौं । नजिकिँदै गरेको तिहारका लागि गत वर्षको तुलनामा कम फूलमाला उत्पादन हुने भएको छ ।
नेपाल पुष्प व्यवसायी संघका अनुसार करीब १५ लाख माला बजारमा ल्याउने तयारी छ, जुन गतवर्षको भन्दा ३ लाख कम हो ।
कोरोना महामारीका कारण पुष्प व्यवसायमा असर परेपछि फूल खेती गर्ने अधिकांश कृषक तरकारी खेतीतर्फ लागेकाले यस वर्ष उत्पादन घटेको हो ।
नेपालमा हरेक वर्षको तिहारमा सयपत्री र मखमली फूलका करीब २२ लाख मालाको खपत हुने गर्छ । यस वर्ष मागभन्दा ७ लाख माला कम उत्पादन हुन सक्ने संघले बताएको छ ।
सामान्य अवस्थामा नेपालमा हरेक दिन १० हजारदेखि १५ हजार सयपत्रीका माला बिक्री हुने गरेकोमा हाल ३ देखि ५ हजार माला मात्र बिक्री हुने गरेको संघको तथ्यांक छ ।
महामारीको चपेटामा परेका उपभोक्ताको क्रय शक्ति कमजोर हुँदा तिहारमा फूलको माग घट्ने अनुमान गरिएको छ ।
गत वर्षको तिहारमा सयपत्री फूलको माला ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्ममा बिक्री भएको थियो ।
यस्तै कटफ्लावर ग्रोवर समितिका संयोजक सुशील खड्काले उत्पादन केही कम भए पनि तिहारमा फूलको अभाव भने नहुने बताउनुभयो ।
तिहारमा फूलको अभाव हुन नदिन र भारतीय फूलको आयात प्रतिस्थापन गर्न फूलखेती गर्ने किसानलाई असारमा करीब २५ केजी बीउ वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
संघको तथ्यांक अनुसार कुल ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको पुष्प व्यवसाय हाल ४३ जिल्लामा फैलिएको छ ।
यस व्यवसायबाट ७ सयभन्दा बढी व्यवसायिका साथै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४० हजार मानिसले रोजगारी पाएका छन् ।
गतवर्ष नेपालको पुष्प व्यवसायमा २ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्