१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरको कटारीमा स्कर्पियो दुर्घटना, पाँचको मृत्यु, तीन जना घाइते


0
Shares

उदयपुर । कटारी नगरपालिका–१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत भदौरेमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भिर छ । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो कार गएराति करिब १२ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ । दुर्घटनामा मृत्यु भएकामध्ये अन्दाजी ३०–३२ वर्षका पुरुष, ३०–३५ वर्षका पुरुष र अर्की ३०–३५ वर्षकी महिलाको पहिचान खुलेको छैन ।

पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । प्रहरीका अनुसार ब्रेक फेल भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् ।

घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।