१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पहिलो त्रैमासिक बजेट खर्च निराशजनक, सरकारी प्रयास कमजोर


0
Shares

finance ministry corona beema

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले कुल बजेटको १५ प्रतिशत पनि खर्च गर्न सकेको छैन ।

कोरोना रोकथामका लागि सरकारले चालेका कदमहरूलाई खुकुलो पार्दै विकास निर्माणका कामसँगै आर्थिक गतिविधि चलायमान बनाउने बताए पनि साउन, भदौ, असोज महिनामा बजेट खर्चको अवस्था हेर्दा सरकारी प्रयास कमजोर देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार कुल १४ खर्ब ७४ अर्ब बराबरको बजेट ल्याएको सरकारले असोज मसान्तसम्म २ खर्ब १ अर्ब अर्थात् (१३ दशमलव ६३ प्रतिशत) मात्रै बजेट खर्च गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल २ खर्ब १ अर्ब रुपैयाँ खर्च भएको छ । यसमध्ये चालूतर्फ १ खर्ब ८२ अर्बभन्दा बढी बजेट खर्च भएको छ ।

चालू वर्षमा कोरोनासँग जुध्दै विकासको गतिलाई तीव्रता दिने बताए पनि पहिलो त्रैमाससम्ममा सरकारले गरेको पुँजीगत खर्च निकै कमजोर छ । पुँजीगत खर्च १५ अर्ब ४ करोड रुपैयाँ मात्रै भएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब ७८ अर्ब रुपैयाँ खर्च भएकोमा चालूतर्फ १ खर्ब ५६ अर्ब रुपैयाँ खर्च भएको थियो । यस्तै पुँजीगततर्फ १८ अर्ब ३६ करोड भएको थियो ।

कोभिड व्यवस्थापन गर्न रकम निकास बढेकाले चालू खर्च बढी भएको महालेखा नियन्त्रकको कार्याालयले जनाएको छ । चालू वर्षमा ३ खर्ब ५२ अर्बबराबरको विकास बजेट ल्याएको थियो ।

यो अवधिमा सरकारले वित्तीय व्यवस्थाअन्तर्गत सरकारी संस्थानमा ऋण तथा विभिन्न दातृ निकायहरुलाई ब्याज तथा साँवा भुक्तानीअन्तर्गत जम्मा ३ अर्ब ४१ करोड खर्च गरेको छ ।