२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


चितवनमा जागिरे दाजुभाईको लोभलाग्दो कृषि कर्म


39
Shares

चितवन । युवाहरुले कृषि कर्म गर्न हुँदैन भन्ने सोचाइलाई चितवनका दुई दाजुभाईले चिरेका छन् ।

भरतपुर चम्पानगरका उनीहरुले युवाहरुको परिश्रम कृषिमा खर्च गर्नसके परिवर्तन सम्भव हुने भन्दै कृषिलाई नै पेशा बनाउने संकल्प गरेका हुन ।

चितवन धान उत्पादनका लागि उर्वर भूमि त हो नै धानको बीउका लागि पनि उती नै उर्वर छ । बीउ राम्रो नहुँदा उत्पादन राम्रो हुन्न ।

दाई तीर्थ सुवेदी र भाइ विमल मिलेर हाइव्रिड, हर्दिनाथ हाइव्रिड १ धानको बीउ उत्पादन गर्दैछन् ।

साढे तीन विघा क्षेत्रफलमा उत्पादन गरेर किसानको खेत–खेतसम्म पुर्‍याउँदै खाद्य सुरक्षामा टेवा पु¥याउने दाजुभाइको लक्ष्य छ ।

त्यसो त दाईको पढाई विएससी एग्रिकल्चरसम्म र भाईको कानुन विषयमा एलएलएम छ । दुवै जना जागिरे ।

तर खेतमा पसिना वगाएर आफूले अध्ययन गरेको क्षेत्रलाई व्यवहारमै लागु गर्ने र विदेशी वीउबाट नेपाली किसान ठगिनुपर्ने वाध्यताबाट मुक्त गराउने दुबै जनाको सोचाई छ ।

नेपाल कृषि अनुसन्धान परिषदले अनुमति दिएको वीउ उत्पादनमा दाजुभाई लागिरहदा आमाको साथ पनि गज्जवको छ ।

छिमेकी लगायत धेरै युवाहरु विदेशिएको देख्दा नरमाइलो लाग्ने आमा मैयादेवीलाई छोराहरुले आफ्नै ठाउँमा कर्म गर्न लाग्दा खुशी लागेको छ ।

राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुर चितवनमा कृषि प्राविधिकको रुपमा करिव ७ वर्ष देखि दाई तिर्थ कार्यरत हुनुहुन्छ ।

हाइव्रिड मकैका जात र त्यसका उन्नत जात पत्ता लगाउने कार्यमा सक्रिय हुनुहुन्छ ।

उहाँले रामपुर हाइव्रिड १० नामको मकैको वीउ ६० क्वीन्टल उत्पादन गरेर किसानकोमा पुर्याइसक्नु भएको छ ।

यो धानको वीउ पनि नेपाली हावापानीमा हुर्किएको र पुर्व झापा देखि धनगढी सम्म उत्पादन हुने उहाँको दावी छ ।

बिभिन्न धानको पनि वीउ उत्पादन गरिरहेका दाजुभाईले पहिलो सिजन निखारेपछि वल्ल फर्म दर्ता गराएका छन् ।

विना सरकारी अनुदान पहिला काम गरेर देखाउने र अहिले फर्म दर्ता गर्नुभएका उहाँहरुले सरकारसँग प्रोत्साहनको आशा गर्नुभएको छ ।

कागज हेरेर अनुदान दिने नभई फिल्डमा आएर मूल्याङ्कनको गर्नु पर्ने उहाँहरुको भनाइ छ ।

लाखौं युवाहरु रोजगारीको लागि बिदेशिएको अवस्थामा आफ्नै ठाउँमा केही गर्नको लागि अनुसंधानमा लागेको युवाहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।