
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अर्गानिक नगर बन्ने भएको छ ।
प्राङ्गारिक मल र बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ नगरमा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिकै रहेको सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्टको स्थापना गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनाका रुपमा यसलाई २ बर्ष अगाडि नै शुरुवात गरेको थियो ।
नगरपालिकालाई अर्गानिक नगर बनाउने उद्देश्यका साथ निर्माण भएको प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्टको काम सम्पन्न भएको छ ।
मल लगाउने बोरा छपाईमा केहि ढिलाइ भएको भन्दै अबको केहि महिनाभित्रमै नगरभित्रका किसानलाई प्राङ्गारिक मल वितरण शुरुवात गरिने दिक्तेल रुपाकोट मझुवनगढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिनुभयो ।
दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको नगरपालिकाका कृषिशाखा संयोजक धमेन्द्र कोलोनीले बताउनुभयो ।
संघिय सरकारको विशेष अनुदानमा निर्माण शुरु गरिएको कम्पोष्ट मल प्लान्टमा करीब ४ करोड रुपैया खर्च भैसकेको छ ।
वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री सङ्कलन गरेर प्रशोधन गर्दै प्रतिघण्टा एक हजार केजी प्राङ्गारिक मल उत्पादन गर्न सकिने कम्पोष्ट प्लान्ट इन्चार्ज प्रविन अधिकारीको भनाइ छ ।
दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण प्राङ्गारिक क्षेत्र बनाउने तयारी भइरहेको छ ।
वडा नं–९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथलालाइृ अर्गानिक वडा घोषणा गरीएको छ ।
यहाँ प्रयोग हुँदै आएको विषादीलाई निरुत्साहित र स्थानीय कृषकहरुलाईसमेत अर्गानिक खाद्यबालीको फाइदाका बारेमासमेत नगरपालिकाले जानकारी गराउँदा नगरबासीसमेत खुशी देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्