२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘डिस्चार्ज’ भएकै दिन कोरोना संक्रमित महिलाको मृत्यु


0
Shares

corona

पर्वत, कात्तिक ३ । पर्वत सदरमुकाम कुश्माबजारमा बस्दै आउनुभएकी कोरोना संक्रमित एक महिलाको अस्पतालबाट ‘डिस्चार्ज’ भएकै दिन मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर-१३ की ४८ वर्षीया महिलाको आइतबार साँझ मृत्यु भएको हो ।

लामो समयदेखि दीर्घरोगी रहनुभएकी उनमा मधुमेहलगायत समस्या थियो ।

उपचारका लागि गएको असोज २९ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्नुभएकी उहाँमा कोरोनाको लक्षणसमेत देखिएपछि अस्पतालले ‘पीसीआर’ गरेको थियो । परीक्षणका क्रममा कात्तिक २ गतेमात्र ‘रिपोर्ट पोजिटिभ’ आएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रका ‘आइसोलेसन’ पहिलेदेखि नै भरिएका कारण घरमै गएर ‘होम आइसोलेसन’मा बस्नसक्ने वा गाह्रो भए नजिकैको अर्को अस्पतालमा जानसक्ने भनी डिस्चार्ज गरिएको थियो ।

उहाँ अस्पतालको सुझावअनुसार आफन्तको सहयोगमा आइतबार पोखराबाट पर्वत फर्किएको र आइतबारै साँझ मृत्यु भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।

घरमा पुगेर आइसोलेसन बस्न थालेको केही घन्टामै उहाँको मृत्यु भएको जनाइएको छ ।

मृतक महिलाको शव नेपाली सेनाको केवल जंग गुल्मले अन्त्येष्टि गर्ने भएको छ ।

कुश्माबजारनजिकै जिल्ला कारागारभन्दा तल मोदीखोलाको किनारमा अन्त्येष्टि गरिने ‘सीसीएमसी’ पर्वतका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।