
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत असोज १ देखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने १३७ पसललाई जरिवानास्वरूप ७८ लाख ५७ हजार राजस्व असुल भएको विभागले बताएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार १ महिना अवधिमा ८०१ फर्मको अनुगमन गर्दा १३७ फर्मलाई जरीवाना गरिएको हो ।
अनुगमनका क्रममा ९८ हजार ७८२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तु नष्ट गरिएको थियो ।
उहाँका अनुसार सो अवधिमा १०४ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न, २२ फर्मको कारोबार रोक्का तथा सिलबन्दी गरिएको र ६ जना व्यक्ति तथा साधनलाई नियन्त्रणमा लिइएको थियो ।
यसैगरी ४८४ फर्ममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।
गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्ये सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरीवाना गरिएको छ ।
३३ ओटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारबाही गरिएको थियो । कारबाहीबाट १४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारबाही गरिएको छ, जसबाट १४ लाख रुपैयाँ जरीवाना संकलन भएको विभागले बताएको छ ।
विभागका अनुसार अनलाइन पसलबाट ५ लाख ८० हजार, औषधि पसलबाट ५ लाख १५ हजार, खाद्य तथा किराना पसलबाट ९५ हजार र गार्मेन्टबाट ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी ग्यास पसलबाट १ लाख, पार्टी प्यालेसबाट ३ लाख, मार्टबाट ५ लाख र मासु पसलबाट ३ लाख, रेष्टुराँबाट २ लाख रुपैयाँ राजस्व असुली भएको छ ।
विगत १ महिना अवधिमा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका ६० खालका फर्म तथा उद्योगको अनुगमन गरिएको बताइएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरीवाना गरिएको विभागले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्