१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दशैमा जिल्ला नछाड्न सिडियो र प्रहरी प्रमुखलाई गृहको निर्देशन


0
Shares

काठमाडौं । दसैंको समयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला नछोड्न सरकारले निर्देशन दिएको छ ।

गृह मन्त्रालयले हिजो उनीहरुलाई जिल्ला नछोड्न भन्दै पत्राचार गरेको हो । नजिकिँदै गरेको दसैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्नसक्ने भन्दै जोखिम नियन्त्रणका लागि समन्वयात्मक उपायहरू अवलम्बन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका आपराधिक गतिविधि हुन नदिइ भरपर्दो सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई गृहले निर्देशन दिएको छ ।

यस्तै, गृहले कोरोना संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दूरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेलाजम्मा तथा भोजभतेर नगर्न, यस वर्षको चाड जो जहाँ छ त्यहीँ बसेर मनाउन तथा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्नरगराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।