
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ ।
खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ ।
हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले ४५ लाख रुपैयाँ निकासा गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समिति दार्चुलालाई खाद्य सामग्री ढुवानीका लागि बजेट उपलब्ध गराएको हो ।
प्रदेश सरकारले व्यास क्षेत्रमा हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराएको घरेलु कार्यालयका प्रमुख गंगाकुमारी मगरले जानकारी दिनुभयो ।
पहिलो चरणमा १८० क्विन्टल खाद्यान्न ढुवानी गरिन लागेको हो । चामल, नुन, दाल, तेललगायत खाद्यान्न सामग्री ढुवानीको तयारी गरिएको बताइएको छ ।
यसअघि गत असार पनि खाद्यान्न ढुवानी गरिएको थियो । व्यासको छाङ्गरुमा ११७ घरधुरी र तिंकरमा ७५ घरधुरीको बसोबास छ ।
व्यासका स्थानीयवासी मंसिरमा बसाइँ सर्ने हुँदा दसैं अगावै खाद्यान्न ढुवानी गरिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्