१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा रासायनिक मलको चर्को अभाव


0
Shares

कैलाली । हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ ।

हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो ।

उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा मल नपाएपछि कैलालीका किसान यसका लागि भौतारिन थालेका छन् ।

बर्खे धानबालीमा रासायनिक मल हाल्न नपाएर उत्पादनमा ह्रास आएको हुनाले हिउँदे सिजनको बाली राम्रो उत्पादन लिने किसानका सपना मल अभावले अहिले पनि तुहिने सम्भावना बढेको छ ।

तोरी छर्ने बेलामा आवश्यक रासायनिक मल युरिया र डिएपी नपाउँदा उत्पादन नहुने हो कि भन्ने चिन्ता बढेको टीकापुर–१ का किसान सीता चौधरीले बताउनुभयो ।

“मल अभाव छ, खेती गर्ने बेलामा मल नपाए उत्पादन हुँदैन”, उहाँले भन्नुभयो, “मानिसले वस्तुभाउ पाल्न पनि छाडिसके, वस्तुभाउको मल पनि पाउन सकिँदैन । यस्तो बेला कसरी खेती गर्नु ?”

खेतीपाती गर्ने बेलामा रासायनिक मल अभाव झेलेको किसान हिउँदे खेतीका लागि पनि मल अभावमै खेती गर्नुपर्ने परम्परागत बाध्यताजस्तै बनिसकेको छ ।

हिउँदे बालीअन्तर्गत गरिने खेती र तरकारी बालीका लागि आवश्यक मात्रामा रासायनिक मल नपाउँदा हिउँदे बालीमा समेत उत्पादनमा कमी आउने टीकापुर–२ का रतनसिंह खड्काले बताउनुभयो ।

“बजारमा मल नै छैन, किसानका लागि आवश्यक मल, बीउ र सिँचाइ सहज पाए पो खेतीपातीमा मन लाग्छ ।”

सुभाष विकले विगतका वर्षमा खेतीका लागि आवश्यक मल भारतबाट ल्याउनुहुन्थ्यो । यस वर्ष सीमानाकामा कडाइ गरिएका कारण उहाँले पनि मल पाउनु भएन ।

“गतवर्ष सहजै भारतबाट मल ल्याइयो, यो वर्ष बर्खे खेतीका लागि पनि मल पाइएन”, उहाँले भन्नुभयो, “मैले त यस वर्ष मल नपाएकै कारण सबै खेतमा मसुरो छरेको छु । मसुरोका लागि मल नभए पनि खासै असर गर्दैन ।”

विकले करिब एक बिघामा व्यावसायिक तरकारी खेती गर्नुहुन्थ्यो । यस वर्ष उहाँले आफूलाई खानका लागि मात्रै तरकारी लगाउने तयारी गर्नुभएको छ ।

कृषि सामग्री कम्पनी सुदूरपश्चिम प्रदेश कार्यालयमा अहिले युरिया र डिएपी मलको मौज्दात शून्य छ ।

कृषि सामग्री कम्पनीसँग ३०० टन पोटासबाहेक अन्य रासायनिक मलको मौज्दात नरहेकाले तत्काल किसानले मल पाउने सम्भावना कम रहेको कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख नवलसिंह बोगटीले बताउनुभयो । रासस