१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ट्रम्प सबैतिर थप आक्रामक


0
Shares

टक्सन, कात्तिक ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सबैतिर थप आक्रामक देखिँदै आउनुभएको छ ।

अमेरिकी उच्च ओहोदामा रहेका र अतिसम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उहाँले सोमबार आक्रोश व्यक्त गर्नुभएको छ ।

देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उहाँले चुनावी अभियानका क्रममा भोगेकामध्ये सबैभन्दा नराम्रो दबाब भोग्नुपर्‍यो ।

चुनावी अभियानका क्रममा उहाँले विवादास्पद र कतिपयले अतिमन नपराउने अभिव्यक्तिहरु दिनुभएको छ ।

फाउचीलगायतका विज्ञहरुमाथिको उहाँको अभिव्यक्ति सबैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ ।

उच्च तहका विज्ञ फाउचीलाई उहाँले टीभीमा जाँदै बोलिरहने र देश र जनतालाई भाँड्ने, सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गर्नुभएको छ ।

‘फाउची र उनीहरुजस्तै अरु धेरैका कुरा सुन्दा-सुन्दा जनता आजित भइसकेका छन् । उनीहरु आफैंमा प्रकोप हुन्, उनीहरुका कारणले नै यहाँको अवस्था बिग्रिएको हो’-ट्रम्पले भन्नुभएको छ ।

त्यसैगरी, कोरोनाभाइरसकाबारेमा उहाँले दिनुभएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ ।

‘म डराएको, आत्तिएको छैन’-टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उहाँले भन्नुभयो ।

‘मलाई लाग्छ, म आक्रामकरुपमा दौडिरहेको छु । म धेरै खुसी पनि छु । मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु’-उहाँले भन्नुभयो ।

उहाँले आफूहरुले जित्ने विश्वास र आधार देखिएको दाबी गर्दै आफ्नो फेरि जित हुने देखेर केही समूहहरु आत्तिएको टिप्पणी पनि गर्नुभयो ।

उहाँले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामाभन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफूहरु ठिक अवस्थामा रहेको पनि बताउनुभयो ।