
काठमाडौं, कात्तिक ४ । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि मंगलबार (आज) राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् ।
हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्नेक्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ ।
आजको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामन्डलमा भएकोजस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिड मिटियर सावर) नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।
उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०ः४५ देखि नै सुरु भइ अक्टोबर २१ को बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ ।
अत्यधिक उल्का वर्षाको बेला प्रतिघन्टा १५ ओटासम्म उल्का देखिने अनुमान छ ।
ती उल्का वर्षाको गति प्रतिसेकेन्ड ६७ किमिसम्म हुने भएकाले करिब ७० किमिमाथि वायुमन्डलमा घर्षण पैदा भइ यस्तो दृश्य देखिने पनि उहाँले बताउनुभयो ।
के हो उल्कावर्षा ?
पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्नेक्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्नेक्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुगेका बेला धुलोका कण र चट्टान पृथ्वीको वायुमन्डलमा तीव्रगतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।
के हो हेलीको पुच्छ्रेतारा ?
बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्यमन्डलका आकाशीय पिन्डको अध्ययन गर्नेक्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई हेलीको ‘पुच्छ्रेतारा’ भनिएको हो ।
यो पुच्छ्रेताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
यसरी हेरिन्छ उल्कावर्षा
उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक पर्दैन । नांगो आँखाले नै उल्कावर्षा हेर्न सकिन्छ । उल्कावर्षा हेर्न धैर्यको आवश्यकता पर्छ ।
उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ । यसका लागि घरको छत वा घरअघिको कुनै खुल्ला ठाउँमा जान सकिन्छ । दुवै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक छ । घरबाहिर निस्कँदा सुरक्षाको पनि कुरा आउँछ ।
चिसो र अन्य किसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्न सोसाइटीले आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्