२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


चीनको ‘बीआरआई’ शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण : दाहाल


0
Shares

काठमाडौं, कात्तिक ४ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको ‘बीआरआई’ परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ ।

मंगलबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना महत्वपूर्ण हुने बताउनुभएको हो ।

बीआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिनसक्ने भएकाले यसलाई आफूले महत्वपूर्ण अवसरको रुपमा लिएकोसमेत अध्यक्ष दाहालले बताउनुभयो ।

यस्तै, गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उहाँले बताउनुभयो ।

भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण : बाबुराम
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बीआरआई यस क्षेत्रको नवीनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

बीआरआईका नौओटा आयोजनाअन्तर्गत् ट्रान्स–हिमालयन कनेक्टिभिटीले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेकोसमेत उहाँले बताउनुभयो । यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुनेपनि उहाँले बताउनुभयो ।

कार्यान्वयनमा जानुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत् छनोट गरेका नौओटा आयोजनालाई छिट्टै अन्तिमरुप दिएर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।

यस्तै, नेपालले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक बनाउनसमेत बीआरआई परियोजना महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजीलगायतले सम्बोधन गर्नुभएको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।