
काठमाडौं, कात्तिक ४ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ संक्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडोयाममा महामारी बढ्नसक्ने देखिएकाले सबै पृतनालाई सरोकारवाला निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ ।
सैनिक मुख्यालय जंगीअड्डामा सञ्चालन भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’को समापन गर्दै उहाँले कोभिड–१९ बाट ठन्डीयाममा आउनसक्ने जोखिमको पूर्वानुमानअनुसार परिपक्व योजना बनाएर समन्वयका साथ काम गर्न निर्देशन दिनुभयो ।
महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्नका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन सल्लाह दिँदै प्रधानसेनापतिले कोभिड–१९ को संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो-‘सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले संगठनलाई पद्धति र प्रणालीमा आधारित तुल्याउन थप बल पुर्याएको छ ।’
बैठकमा जंगीअड्डा मातहतका महानिर्देशनालय, निर्देशनालय, विभाग र पृतनाले आ-आफ्ना कार्यप्रगति, सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड–१९ बाट सिर्जित सुरक्षा चुनौती एवं आगामी कार्यनीतिका सम्बन्धमा सुझावसहितको प्रस्तुतिकरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्