
इस्लामावाद, कात्तिक ४ । छोटो भिडियो सेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको पाकिस्तानले अहिले फेरि खुकुलो बनाएको छ ।
पूर्णरुपमा प्रतिबन्ध लगाइएको १० दिनपछि केही प्रतिबन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो ।
पाकिस्तानका सरकारी अधिकारीहरुले सोमबारदेखि पुरानो निर्णयलाई संशोधन गरिएको जानकारी दिएका छन् ।
पाकिस्तानी दूरसञ्चार प्राधिकरणले साँस्कृतिक र परम्परागत संस्कारलाई नकारात्मक असर पारेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
मुस्लिम बहुल मुलुकमा प्रचलनमा रहेका सामाजिक मूल्य-मान्यताको उल्लंघन भएको र मुस्लिम संस्कृतिमा नसुहाउने गतिविधिहरु टिकटकमार्फत् भएको भन्दै प्राधिकरणमा उजुरी पनि परेको प्राधिकरणले जनाएको थियो ।
प्राधिकरणमा परेको उजुरी, विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव तथा दबाबका कारण पाकिस्तान सरकारले यही अक्टोबर ९ तारिखदेखि पाकिस्तानमा टिकटक प्रतिबन्ध लगाएको थियो ।
तर, अहिले भने साँस्कृतिकरुपमा असर नपार्ने र उछृंखल नहुने किसिमका भिडियोहरु भने सेयर गर्न पाउने गरी केही खुकुलो बनाइएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयकाबारेमा संसदमा कुरा उठेर छलफल हुँदा केही प्रतिबन्धात्मक व्यवस्थासहित खुकुलो बनाउनु उपयुक्त हुने सुझाव आएपछि खुकुलो बनाउने निर्णय भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्