१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कंगोमा केन्द्रीय कारागारमा आक्रमण, एक हजार ३०० कैदी फरार


0
Shares

बेनी (कंगो), कात्तिक ४ । अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई भगाएको छ ।

बेनी सहरका मेयर मोडेस्टे बकवानामाहाले काङबायी कारागारमा भिडन्तका क्रममा एक कैदीको ज्यान गएको जानकारी दिनुभयो ।

उहाँले जेलबाट फरार कुनै शंकास्पद व्यक्ति देखे स्थानीय प्रशासन, प्रहरीमा खबर गर्न नगरबासीलाई अनुरोध गरिएको पनि बताउनुभयो ।

मेयर मोडेस्टेले कारागारबाट भागेका २० जना कैदी भने फर्किएको जानकारी दिनुभयो ।

स्थानीय प्रशासनको सम्पर्कमा आएका कैदीबन्दीहरुले विद्रोहीसँगको जीवन आफ्ना लागि अझ खतरापूर्ण र दुःखदायी रहेकाले फर्किएको बताएका छन् ।

काङबायी जेल तोडिएको समाचार आएलगत्तै स्थानीयबासीमा त्रास उत्पन्न भएको छ ।

सरकारी फौज र एडीएफबीच हिंसात्मक झडप हुने र त्यसबाट स्थानीयबासी प्रताडित हुने खतरा रहेको स्थानीयको भनाइ छ ।

स्थानीयबासी सदी अमुन्डालाले ‘यो बेनीका स्थानीयका लागि खतरा हो’-भन्नुभयो ।

जेल जीवनमा सुधार ल्याउन तथा स्थानीय तहमा सुरक्षा व्यवस्था बढाउन सरकारले विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसअघि, तीन वर्षपहिले पनि काङबायी कारागारमा आक्रमण गरेर १०० भन्दा बढी कैदीबन्दी भगाइएको थियो । त्यसबखत दर्जनौं व्यक्तिको मृत्यु भएको थियो ।

एडीएफ नामले परिचित अलाइड डेमोक्रेटिक फोर्सको जन्म छिमेकी युगान्डाबाट भएको र यो समूह लामो समयदेखि पूर्वी कंगोका लागि सुरक्षा खतरा बन्दै आएको छ ।

इस्लामिक स्टेट समूहले कारागारमाथिको हमलाको जिम्मेवारी लिएको छ ।