१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना विरुद्ध लड्न सित्तैमा भिटामिन ‘डी’ औषधि लिने कि ?


13
Shares

-डा.अरुणा उप्रेती

बोस्टन युनिभर्सिटीका डा. माइकल होलिकले शोधबाट शरीरमा भिटामिन डीको मात्रा धेरै हुनेहरुलाई कोरोना भाइरस संक्रमण हुने सम्भावना अन्यको तुलनामा ५४ प्रतिशतले कम हुने गरेको पत्ता लगाएका छन् । संक्रमित भएकाहरुमा पनि मृत्य दर ५२ प्रतिशत कम हुन सक्ने उनले बताए ।

हामी धेरैले बिहान उठेर सूर्यलाई ‘भगवान्’ ठानेर नमस्कार गर्छौं तर सूर्यको किरणको प्रयोग भने धेरै गर्दैनौं । हरेक दिन १५ देखि २० मिनेटसम्म घाममा बस्दा स्वस्थ रहन मद्दत पुग्छ । घामले हामीलाई भिटामिन ‘डी’को आपूर्ति गर्न सहयोग गर्छ । तर यसतर्फ कमैको मात्र ध्यान पुग्ने गर्छ ।

७० वर्षीया ज्योति शर्मा भन्छिन्, ‘मैले ३० वर्षसम्म स्वदेश–विदेश धेरै ठाउँमा काम गरें । ढाड दुख्ने समस्या हुँदा सहेर पनि काम गरिरहेँ । डाक्टरलाई देखाउँदा भिटामीन ‘डी’को कमी भएर ढाड दुखेको भन्दै नियमित घाममा बस्ने सल्लाह दिए तर मैले फुर्सद पाइनँ । अहिले त मेरो ढाड, घुँडा सबै दुख्छ ।औषधिले पनि कम हुँदैन । मैले दैनिक केही समय घाममा बसेको भए यस्तो दुखाइ हुँदैन थियो होला भनेर पछुताइरहेकी छु “।’

विशेष गरी महिलाहरू भन्ने गर्छन्, ‘घाममा बस्ने फुर्सद नै हुँदैन, कतिखेर बस्नु ?’ यस्तो भनाइले उनीहरू स्वास्थ्यप्रति उति सचेत छैनन् भन्ने बुझिन्छ ।

भिटामिन ‘डी’ वास्तवमा , एक हर्मोन हो । ब्रिटेनको एक अस्पतालमा कार्यरत एक नर्स भन्छिन््, ‘जुन मानिसले पर्याप्त मात्रामा सूर्यको किरण पाउँदैन, उसलाई मात्र भिटामिन ‘डी’को चक्की चाहिन सक्छ । प्रत्येक दिन हात, पाखुरा कपडाले नछोपी र सनस्क्रिन पनि नलगाई केही बेर घाममा बस्ने हो भने पर्याप्त मात्रामा शरीरमा भिटामिन ‘डी’ पुग्छ ।’ नेपालमा त ब्रिटेनमा जस्तो वर्षमा केही महिना मात्र घाम लाग्ने होइन, वर्षभरि नै घाम लाग्छ ।

भिटामिन ‘डी’ले बालबालिकामा दम र स्वासप्रश्वास रोगको समस्या घटाउन सहयोग गर्छ, हड्डी बलियो बनाउँछ । साथै शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउँछ । अर्थात् रोगसँग लड्ने क्षमतालाई वृद्धि गर्छ ।

बच्चाको रोगसँग लड्ने क्षमता वृद्धि गर्ने र निःशुल्क उपलब्ध हुने सूर्यको किरणलाई बेवास्ता गरेर महँगा औषधिका चक्कीहरूमा बाबुआमाले किन पैसा खर्च गर्ने ? म व्यक्तिगतरुपमा बजारमा पाइने भिटामीन ‘डी’ र क्याल्सियम दुवै खान्न, पोषणयुक्त खाना खाने र घाममा बस्ने गर्छु ।

सूर्यबाट प्राप्त हुने किरणले हाडसम्बन्धी समस्या कम गर्नुका साथै महिलामा हुन सक्ने बाथरोगको जोखिम कम गर्छ । चिसो ठाउँमा बसेर काम गर्ने व्यक्तिलाई हुने दुःखाइलाई पनि कम गर्छ । घाममा बसेर मालिस गर्नु शरीर स्वस्थ राख्ने उत्तम उपाय हो भन्ने परम्परागत चलन नै छ ।

आजकल स्वास्थ्यकर्मीहरूले भिटामिन ‘डी’संँगै क्याल्सियम पनि दिने गर्छन् । क्याल्सियम प्राप्त गर्नका लागि चक्की किनेर खानै पर्दैन । ज्वानो, आलस, मही, चीज, भटमास, तिल, पालुंगो, कोदो, फापर, मागुनो, चिनो आदिमा प्रशस्त क्याल्सियम पाइन्छ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी पनि दैनिक केही समय घाममा बस्ने हो भने भिटामिन ‘डी’को चक्की दिनुको कुनै औचित्य नभएको बताउनुहुन्छ ।

जुन समस्यालाई पनि औषधिले मात्र समाधान गर्ने हाम्रो बानीले गर्दा हामीले प्राकृतिक स्रोतको उपयोग गर्न बिर्सिंदै गएका छौँ र महँगो औषधि किन्न बाध्य भइरहेका छौँ । कतिपय स्वास्थ्यकर्मीले त एक महिनाको शिशुलाई पनि हड्डी बलियो बनाउनका लागि भनेर झोल क्याल्सियम लेखिदिने गरेको पाइन्छ । यो ठीक होइन । किनभने आमाको दूधमा भएको क्याल्सियमले शिशुलाई पुग्ने भएको हुँदा आमाको दूध खुवाउन नै प्रोत्साहित गर्नुपर्छ ।-फेसबुकबाट साभार