
जुम्ला, कात्तिक ५ । हिमा गाउँपालिका–३, मोफ्लागाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही गाउँका ३७ वर्षीय रामचन्द डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित डाँगीलाई प्रहरीले मोफ्लागाउँबाट गिरफ्तार गरेको हो ।
प्रहरी निरीक्षक देवराज भट्टराईकाअनुसार गत असोज १९ गते राति घरबाट बेपत्ता भएकी किशोरीको कात्तिक १ गते हिमा–१, पागरपालीस्थित हिमा नदीको छेउमा शव फेलापरेको थियो ।
किशोरी बेपत्ता भएको हप्ता दिनपछि मोफ्लागाउँदेखि माथि डाँडामा कपडा भेटिएकाले बरामद गरी प्रहरीले मुचुल्कासमेत गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यही कात्तिक १ गते शव परीक्षण गर्दा किशोरीको पेटमा तीन महिनाको शिशु थियो ।
प्रहरी निरीक्षक भट्टराईले भन्नुभयो-‘डीएनए र भीसीआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौं पठाउने तयारी गरिएको छ ।’
किशोरीका आफन्तले हत्या गरेको आरोपमा मोफ्लागाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय डाँगीका नाममा कर्तव्य ज्यान मुद्दा जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्