
जलालावाद, कात्तिक ५ । अफगानिस्तानको जलालावादमा बुधबार अपराह्न भएको भागदौडमा परेर कम्तीमा पनि १२ जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुकाअनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा सो भागदौड भएको थियो ।
यहाँका सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए । सोहीक्रममा अकस्मात् भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उक्त कन्सुलेटमा लाममा लागेका महिलालाई लक्षित गरेर हल्ला मच्चाइएको र जसका कारण महिलाहरु भागदौडमा परेका थिए ।
त्यसक्रममा लाम लागेर बसेका महिलाहरुमा बम पड्किएको हल्ला चलाइएको र अकस्मात् सो हल्लाका कारण उनीहरुमा दौडधुप भएको थियो ।
त्यसमा परेर १२ जना महिलाको घटनास्थलमै ज्यान गएको र अरु १२ जना नराम्ररी घाइते भएका थिए । घाइते भएकाहरुको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बताइएको छ ।
यहाँको स्थानीय सञ्चारमाध्यम ‘टोलो न्यूज’ टेलिभिजनले सो कुराको जानकारी दिएको हो ।
मारिने महिलामा पाकिस्तानका र अफगानिस्तानका के-कतिजना थिए भन्नेबारेमा केही बताइएको छैन ।
प्रतिक्रिया दिनुहोस्